भादा गाउँ थारु होमस्टे महोत्सवमा कैलाली हस्पिटलका डा. विवेक जोशी सम्मानित

  शुक्रबार १८, पुष २०८२ ०७:२२

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादा गाउँमा आयोजना गरिएको १३औँ थारु होमस्टे महोत्सव २०८२ को उद्घाटन समारोहमा कैलाली हस्पिटल प्रा.लि.का ल्याप्रोस्कोपिक सर्जन डा. विवेक जोशी लाई सम्मान गरिएको छ ।

स्वास्थ्य क्षेत्रमार्फत यस क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै डा। जोशीलाई सम्मान गरिएको हो । महोत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले डा. जोशीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरेका हुन् । 

सम्मान कार्यक्रमको अवसरमा मन्त्री खड्काले डा। जोशीले आधुनिक शल्यक्रिया सेवामार्फत सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरे । उनले निजी क्षेत्रबाट समेत स्वास्थ्य सेवामा गरिएको योगदान राज्यका लागि महत्वपूर्ण रहेको बताए ।

महोत्सवका आयोजक थारु होमस्टे भादा गाउँका अध्यक्ष लक्ष्मी नारायण चौधरी ले सामाजिक उत्तरदायित्व अन्तर्गत डा। जोशीलाई सम्मान गरिएको जानकारी दिए । स्थानीय समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि तथा सहज उपचार सेवामा डा. जोशीको भूमिकालाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको उनले बताए ।
कार्यक्रममा प्रदेशसभा उपसभामुख कोइली देवी चौधरी, प्रदेशसभा सदस्य डम्मरी महरा लगायत विभिन्न जनप्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । थारु समुदायको मौलिक संस्कृति, परम्परा, खानपान तथा आतिथ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थारु होमस्टे महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ । 

महोत्सवका क्रममा सांस्कृतिक झाँकी, थारु नृत्य, स्थानीय परिकार तथा हस्तकलाका सामग्री प्रदर्शनी समेत गरिएका छन् । आयोजकका अनुसार महोत्सवले थारु समुदायको पहिचान जोगाउँदै स्थानीय आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

clock शुक्रबार १८, पुष २०८२ ०७:२२

प्रतिक्रिया