राष्ट्रिय सम्मानसहित विपिन जोशीको आज अन्त्येष्टि गरिदै
धनगढी । इजरायल–हमास युद्वका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी०सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो ।
काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको विपिनको शव धनगढी विमानस्थलमा सलामी अर्पण गरेर उनको परिवारलाई बुझाएको थियो ।
विपिनको ल्याइएपछि नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेको छ ।
राजदूतसहितको इजरायली प्रतिनिधिले विपिन जोशीको घरमा पुगेर परिवारलाई सहानुभूति समेत दिएको छ ।
प्रतिक्रिया