डडेल्धुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून
डडेल्धुरा । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून देखिएको छ । निर्वाचन आयोगले असोज १० गतेदेखि कार्तिक मसान्तसम्मका लागि देशभर मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरे पनि बिहीबारसम्म १ सय २१ जनाले मात्र नाम दर्ता गरेको निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
कार्यालयका कम्प्युटर अपरेटर भवानी दत्त भट्टले आयोगमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र र नागरिकता प्राप्त व्यक्तिले अनलाइन प्रणालीमार्फत आफ्नो विवरण भर्ने व्यवस्था अहिलेको प्रणालीमा रहेको बताए ।
‘मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य छ । नागरिकता प्राप्त व्यक्तिले आफ्नो विवरण अनलाइनमार्फत भर्न सक्ने व्यवस्था छ,’ उनले भने, ‘बायोमेट्रिकका लागि कार्यालयमा आउनु आवश्यक छ तर अन्य सम्पूर्ण विवरण घरमै बसेर मोबाइल वा कम्प्युटरबाट भर्न सकिन्छ ।’
उनका अनुसार अझै अनलाइन प्रणाली प्रयोग गर्न नजान्दा वा इन्टरनेट पहुँच अभावका कारण पनि नाम दर्तामा ढिलाइ भइरहेको छ । ‘अहिले नयाँ नागरिकता लिएका युवा नै बढी नाम दर्ता गर्न आइरहेका छन्, अन्य उमेर समूहको सहभागिता न्यून छ,’ उनले भने ।
निर्वाचन आयोगले आगामी फागुनमा हुने निर्वाचनको तयारीका लागि देशभर मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरेको छ । आयोगले मतदाता नामावलीमा नयाँ नाम थप्न, त्रुटि सच्याउन र मृतक वा दोहोरो नाम हटाउनका लागि कार्तिक मसान्तसम्म समय तोकेको हो ।
प्रतिक्रिया