सुदूरपश्चिम सरकारद्धारा ७ वर्षमा ८९ पुल र ३२ सय किलोमिटर सडक निर्माण

  शुक्रबार ३१, असोज २०८२ ०७:३३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ७ वर्ष अवधिमा ८९ वटा पक्की पुल र ३ हजार २ सय ६४.६८ किलोमिटर सडक निर्माण गरेको छ । ०७५/७६ अघि ३ हजार ९ सय ५४ किलोमिटर कच्ची सडक रहेकोमा १ हजार ५ सय ९३ किलोमिटर थपिएर ५ हजार ५ सय ४७ किलोमिटर पुगेको छ । १ हजार १ सय ५८ किलोमिटर ग्राभेल सडक रहेकोमा १ हजार १ सय ४९ किलोमिटर थपिएर २ हजार ३ सय ७ किलोमिटर पुगेको छ ।

आर्थिक वर्ष ०७५/७६ देखि ०८१/८२ सम्मको अवधिमा सडक र पुल निर्माणका लागि २३ अर्ब तीन करोड १३ लाख ८१ हजार खर्च गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । ०७५/७६ अघि राष्ट्रिय राजमार्गबाहेक २ सय ३४ किलोमिटर सडक कालोपत्र थियो । ७ वर्षको अवधिमा ६ सय २२.६७ किलोमिटर कालोपत्र सडक थपिएर ८ सय ५६.६७ किलोमिटर पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न सडकका टुक्रे खण्ड जोडेर उल्लेख्य लम्बाईको सडक निर्माण भएको देखिए पनि प्रदेश सरकारले आफै सुरु गरेर सम्पन्न भएका ठूला सडक आयोजनाको संख्या न्यून छ । सुदूरपश्चिम सरकारले प्रदेश गौरबका नाममा निर्माण गरिरहेको ९ वटा सडक एउटा पनि पूरा भएको छैन । धनगढीमो चार लेन मुख्य सडकको २.३ किलोमिटर, क्याम्पस रोड–जुगेडा १.५ किलोमिटर, भजनी–सुख्खड १४ किलोमिटरको निर्माण सम्पन्न भएको छ ।

प्रदेश गौरबका सडक आयोजना अन्तर्गत पनि विभिन्न खण्ड कालोपत्र भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सरकारले पञ्चवर्षीय योजना (०८२/८३ सम्म) मा निर्धारण गरेको लक्ष्य एक वर्ष अगाडि नै पूरा गरिए पनि ८५ प्रतिशत जनसंख्यालाई आधा घण्टाको समयभित्रै सडक यातायातको पहुँच पुर्‍याउने लक्ष्य भने पूरा हुन सकेको छैन ।

अहिले पनि हिमाली तथा पहाडी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यातायातको सुविधाका लागि घण्टौं हिँड्नु पर्ने बाध्यता छ । बझाङको साइपाल र दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र अझै सडकको पहुँच बाहिर छन् । प्रदेशका अन्य सबै ८६ वटा स्थानीय तहका केन्द्र सडक सञ्जालमा जोडिसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रामचन्द्र खत्रीले बताए ।

७ वर्षको अवधिमा ८९ वटा सडक पुल निर्माण भएका मन्त्रालयले जनाएको छ । आवधिक योजनाको अवधिमा १८ वटा निर्माण गर्ने लक्ष्य राखिएको थियो । यस अवधिमा २ सय ९३ वटा झोलुंगे पुल निर्माण गरिएको उनले बताए ।

०८३/८४ सम्म प्रदेश गौरबका सडकको ९ सय किलोमिटर बनाउने लक्ष्य भने पूरा हुने सम्भावना न्यून छ । प्रदेश सरकारले ९ वटै जिल्लामा एकरएक वटा प्रदेश गौरबका योजना छनोट गरेर ९ सय १३ किलोमिटर सडक निर्माणको योजना अघि बढाइरहेको छ । ०७६र७७ बाट निर्माण सुरु गरिएका प्रदेश गौरबका सडकमा हालसम्म २ सय २८ किलोमिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला वर्षमा सरकारले प्रदेश गौरबका सडक निर्माणलाई प्राथमिकतामा नराखेको र प्रदेशको बहुपर्षीय ठेक्कामा बजेट अभाव भएकाले सडक र पुल निर्माणका काम अलपत्र पर्दै गएका छन् ।

चालु आर्थिक वर्षमा सडक र पुल निर्माणका लागि ६ अर्ब ९१ करोड ६२ लाख १७ हजार विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा सडक र पुल निर्माणका २३ अर्ब ३ करोड १३ लाख ८१ हजार रुपैयाँ खर्च गरेको अभिलेख छ । यसअवधिका लागि सरकारले ३५ अर्ब ३० करोड २१ लाख ५० हजार विनियोजन गरेको थियो ।

clock शुक्रबार ३१, असोज २०८२ ०७:३३

प्रतिक्रिया