कञ्चनपुरको शुक्लाफाँटाका गिद्धमा जीपीएस जडान गरिदैँ

  बिहिबार ३०, असोज २०८२ ११:४३

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गिद्धमा जीपीएस जडान गर्न थालिएको छ। शुल्काफाँटाको हिरापुर फाँटा, तारापुर फाँटाका गिद्धमा जीपीएस जडान गर्न लागिएको हो।

नेपाल पन्छी संरक्षण संघका परियोजना फिल्ड अधिकृत हिरुलाल डगौंराले हिरापुरसँगै तारापुर फाँटामा गरी दसैंअघिसम्म १४ दिनमा ५ वटा गिद्धमा जीपीएस जडान गरिएको बताए। अझै ५ वटामा जीपीएस जडान गर्न बाँकी छ । अब तिहारपछि जीपीएस जडानको काम सुरु उनले बताए । यस वर्ष १० डंगर गिद्धमा जीपीएस जडान गर्ने योजना रहेको डगौंराले बताए।

‘अहिलेसम्म पाँच वटा गिद्व समात्न सफल भएका छौं, समातिएका सबैमा जीपीएस जडान गरेर छाडिएको छ,’ उनले भने, ‘गत वर्ष पनि एक पटक १९ दिनसम्म गिद्ध नेटभित्र पसेनन्, दोस्रो पटकको प्रयासमा जीपीएस जडान गर्न सफल भएका हौं ।’ संघले गत वर्ष पनि निकुञ्ज क्षेत्रमा १० डंगर र ४ वटा सानो खैरे गरी १४ गिद्धमा जीपीएस जडान गरेको थियो। अहिले ती गिद्ध कहाँसम्म पुग्छन् भन्ने विषयमा अध्ययन भइरहेको छ।

गिद्धको गतिविधि, आहाराका लागि विचरण गर्ने क्षेत्रको पहिचान र विचरण क्षेत्रलाई सुरक्षित बनाउनका लागि जीपीएसबाट अनुगमन गरिन्छ। जुन ठाउँमा पुगेर गिद्ध मरेको भेटिन्छ उक्त क्षेत्रमा जोखिमको अवस्था मानिन्छ। त्यो जोखिम कसरी न्युनीकरण गर्न सकिन्छ भनेर काम गर्न यो अनुगमन भइरहेको डगौंरा बताउँछन् । एक पटक जडान गरेको जीपीएसले ३ देखि ५ वर्षसम्म काम गर्छ।

‘पशु उपचारमा प्रयोग हुने कतिपय औषधिहरु गिद्धका लागि घातक छ, तिनको प्रयोगले गिद्धहरु जोखिममा छन्,’ उनले भने, ‘नेपालमा डाइक्लोफेनक नामक औषधि प्रतिबन्ध गरिएको छ, तर अहिले पशु उपचारमा प्रयोग भइरहेका केटोप्रोफिन, निमुस्लाइड, एसिलोफेनक प्रयोग भइरहेको छ, जसले गिद्धलाई जोखिम बढाइएको छ।’ जुन ठाउँमा गएर गिद्ध मरेको भेटियो उक्त क्षेत्रमा यसबारे सचेतनादेखि रोकथामका उपाय अपाउन सहयोग पुग्नेछ।

उनका अनुसार गत वर्ष सेप्टेम्बरमा जीपीएस जडान गरेका सबै गिद्ध जीवित छन्। तीमध्ये एउटा गिद्ध भारतको जिम कर्बेट नेसनल पार्कसम्म पुगेको छ। अन्य पनि भारतको दुधुवा नेसलन पार्कदेखि लग्गाबग्गा संरक्षित क्षेत्र हुँदै पिथौरागढसम्म पुगेका छन् । यसैगरी बैतडी र डडेलधुरासम्म पनि गिद्धहरु पुगेको देखिएको डगौंरा बताउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जिल्लाका विभिन्न स्थानमा हालै गरिएको गणना अनुसार कञ्चनपुरमा गिद्धका १ सय २६ गुँड भेटिएका छन्। निकुञ्जसँगै लालझाडी, बन्साहा, पर्सिया लगायतका क्षेत्रमा गणना गरिएको थियो। गिद्धमा जीपीएस जडानका लागि निकुञ्जको हिरापुर र तारापुर क्षेत्रमा काम गरिएको हो। गिद्धको बासस्थान राम्रो भएका कारण उययुक्त क्षेत्र छनोट गरिएको हो। यसका लागि नेपाल पन्छी संरक्षण संघसँगै निकुञ्ज कार्यालयका प्राविधिकले संयुक्त रुपमा काम गर्दै आएका छन्।

clock बिहिबार ३०, असोज २०८२ ११:४३

प्रतिक्रिया