जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा पूर्ण रूपमा सञ्चालन

  बिहिबार ३०, असोज २०८२ ०७:५९

धनगढी । जिल्ला प्रशासन कार्यालय, कैलालीको सेवा पूर्ण रुपमा सञ्चालनमा आएको छ। जेन–जी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गरिएको जिल्ला प्रशासनको सेवा एक महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, मुद्दा दर्ता तथा फैसला कार्यान्वयन लगायतका सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आएका बताए। 

उनले भने, ‘राहदानीको सेवा पनि सुचारु भएको छ। राष्ट्रिय परिचय पत्र र नागरिकताको सेवा पहिलैबाट सुरु गरेका थियौ। निर्वाचन आयोगले पठायो भने, मतदाता नामावली दर्ताको काम पनि गर्न सक्छौ।’

जिल्ला प्रशासन कार्यालय, कैलाली तोडफोड र आगजनीको एक महिना पछि पहिलैको अवस्थामा फर्किएको हो। जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धी सेवा भने जेनजी आन्दोलनको केही दिनपछि नै वैकल्पिक व्यवस्था गरेर सञ्चालन गरेको थियोे। 

आन्दोलनका क्रममा आगजनी गरिएपछि जिल्ला प्रशासन कार्यालयका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। जिल्ला प्रशासन कार्यालय, कैलालीको राणाकालीक भवन आगजनीबाट ध्वस्त भएको छ।

clock बिहिबार ३०, असोज २०८२ ०७:५९

प्रतिक्रिया