धनगढीमा तस्करीको समान सहित २ महिला सशस्त्रको फन्दामा

  बिहिबार ३०, असोज २०८२ ०७:५३

धनगढी । भारतबाट अवैध रूपमा भन्सार छली सामान नेपाल भित्र्याउने क्रममा कैलालीमा दुई महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं। ३४ गण मुख्यालय कैलालीबाट खटिएको टोलीले असोज २८ गते राति करिब ११ बजे धनगढी उप–महानगरपालिका–१ त्रिवेणीघाट इलाकामा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–८ निवासी ४० वर्षीया शान्ति बोहरा र ३४ वर्षीया हस्मिता चौधरी रहेका छन्। उनीहरूबाट २ लाख १३ हजार बराबरको सामान बरामद गरिएको छ।

उनीहरुमध्ये चौधरी यस अगाडि पनि भारतबाट भन्सार छलीका सामान ल्याउँदै गरेको अवस्थामा फरार भएकी थिइन्। त्यसबेला ९ लाखको मोबाईल पार्टसको सामान बरामद भएपनी उनी पक्राउ पर्न सकेकी थिइनन्। तर सशस्त्रले मंगलबार भने विशेष सूचनाको आधारमा उनलाई  पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका सामानसहित उनीहरूलाई भन्सार ऐन २०६४ बमोजिम आवश्यक कारबाहीका लागि बुझाएको जनाएको छ।

clock बिहिबार ३०, असोज २०८२ ०७:५३

प्रतिक्रिया