शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खुल्यो जंगल सफारी
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबारदेखि जंगल सफारी खुला गरिने भएको छ । बर्खायामका बेला बन्द रहेको सफारी बाटो मर्मत गरेर खुला गरिन लागेको हो ।
अहिले निकुञ्जको कार्यालय मझगाउँबाट रानीताल हुँदै सिंहपुरसम्म र मझगाउँबाट बर्कौलासम्म मात्रै सफारी गर्न सकिने भएको छ । तर निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटा घाँसे मैदानसम्म भने सफारी सुचारु हुन सक्ने छैन ।
‘दुवैतर्फको बाटोमा ठूलठूला खाल्डाखुल्डी छन्, तत्काल फाँटासम्मै सफारी गर्न सकिने छैन,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘अहिले उक्त क्षेत्रमा जेसीबी लगाएर मर्मतको काम भइरहेको छ ।’
उनले तिहारअगावै सफारीका सबै बाटो खुला गर्ने लक्ष्य राखिए पनि बर्खामा बाटो धेरै बिग्रेकाले समस्या भएको हो । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको बासस्थान हो ।
यहाँ हजारौंको संख्यामा बाह्रसिंगा चरिरहेका देखिन्छन् । पछिल्लो गणना अनुसार निकुञ्जमा २३ सय बढी बाह्रसिंगा छन् । निकुञ्जमा सफारी गर्नेको रोजाइमा घाँसे मैदान अनिवार्य पर्ने गरेको छ । घाँसे मैदान मझगाउँट करिब २९ किलोमिटर दक्षिणमा पर्छ ।
प्रतिक्रिया