घाेडाघाेडी बीभत्स हत्या : टाउको बोकेर चौकी पुगेका व्यक्ति दुई वर्ष जेल परेका थिए

  शनिबार २५, असोज २०८२ १३:४८

धनगढी । घोडाघोडी नगरपालिका वडा नं ६ स्थित अस्थाई प्रहरी पोष्ट प्रतिखेत बसन्तमा शुक्रबार राति ११ बजेर २२ मिनेटमा दुई युवक रक्ताम्मे रेटिएको टाउको बोकेर पुगे। रेटिएको युवकको टाउको देखेर प्रहरी नै आश्चर्य चकित परे। 'मान्छे काटेर टाउको ल्याएर आएका हौँ' भनेर ती दुई युवाले बयान दिए।

 

चलचित्रको दृष्यमा देखिने झै यो त्रासदीपूर्ण घटना शुक्रबार राति कैलाली जिल्लाको घोडोघोडी नगरपालिका वडा नं ८ स्थित जरैमा भएको हो। २८ वर्षीय युवक केशरबहादुर बुढाको बीभत्स हत्या गरेर १९ वर्षीय बलबहादुर विकर १९ वर्षीय गंगा बुढा क्षेत्री टाउको बोकेर प्रहरी चौकीमा पुगेका थिए।

 

हत्या गर्ने दुई युवा आपसमा परिचित हुन् भने ती दुईले हत्या गरिएका युवकसँग उनीहरूको चिनजान थिएन। टाउको बोकेर प्रहरीमा पुगेका ती दुई अभियुक्तलाई बुझ्दा हत्या गरिएका व्यक्ति को हो भन्ने जानकारी नभएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए। घटना स्थलमा पुगेर हत्या गरिएका युवकको मोबाइलमा रहेका नम्बरबाट पहिचान पत्ता लगाइएको उनले बताए।

 

यसरी भयो घटना

 

हत्या गरिएका केशरबहादुर बुढा, बलबहादुर वि.क. र गंगा बुढा मोहन्याल गाउँपालिकासँग सिमाना जोडिएको घोडोघोडी नगरपालिका वडा नं ८ जरै बस्तीमा रहेको खाजा पसलमा मदिरा सेवन गरेका थिए। बलबहादुर र गंगाको घर पसलबाट करिब एक सय मिटरको आसपास नजिकै थियो भने केशरको घर करिब एक किलोमिटर दूरीमा थियो।

 

पसलमा रहर नामको निम्न स्तरको मदिरा चटपटसँग ती युवकहरूले खाएका थिए। १० बजेपछि पसल बन्द गर्छु भनेर पसल संचालकले भनेपछि तिनीहरू निस्केको प्रहरीले बताएको छ। पहिले चिनजान नभएका केशरलाई मदिरा बढी लागेको छ भनेर विक र बुढा एक सय मिटर परसम्म पुर्‍याउन गए। त्यसपछि विवाद सुरु भएको अभियुक्तको बयानबाट बुझिएको डिएसपी अवस्थीले बताए।

 

‘मदिरा बढी लागेको भनेर पुगाईदिन गएपछि मलाई दारु बढी लाग्यो भन्ने भन्दै गाली गरेपछि दुई जनाले हान्दा ती युवक नालीमा खस्छन्,’ प्रहरी नायव उपरीक्षक अवस्थीले भने, ‘नालीमा ढलेपछि बलबहादुर करिब एक सय मिटरको दूरीमा रहेको घर गएर हँसिया ल्याएर आई केशरको टाउको छिनालेको हो।’

 

बाँकी शरीर घटना स्थलमै छोडेर टाउको बोकेर विक र बुढा प्रहरी पोष्ट पुगेका थिए। घटना स्थलबाट करिब आधा घण्टा हिँडेर अभियुक्त प्रहरी पोष्ट पुगेका थिए।

 

प्रहरीमा टाउको ल्याएर आएपछि कसलाई मारेको हो भनेर सोद्धा उनीहरूले नचिनेको जवाफ दिएको प्रहरीले बताएको छ। ११ बजेर २३ मिनेटमा प्रहरीले घटनाको बारेमा थाहा पाएपछि राति आफैँ घटना स्थलमा पुगेको डिएसपी अवस्थीले बताए।

 

हत्या गरिएका केशर दसैँ मनाउन घर आएका थिए

 

सुर्खेत चौकुनै गाउँपालिका वडा नं ३ घर भएका केशर बुढा एक वर्षअघि मात्र तराई झरेको स्थानीय खगेन्द्र ठकुल्लाले बताएका छन्। जरैमा बस्ने केशरको घरमा श्रीमती, ९ वर्षका छोरा र १ वर्षकी छोरी रहेको उनले बताए। सुर्खेतबाट आउन लागेका बुबा नपुगेकाले शनिबार दिउँसोसम्म हत्या गरिएको शरीर घटना स्थलबाट उठाइएको छैन।

 

भारतको सुरतमा मजदुरी गर्ने केशर दसैँ बिदामा घर आएका थिए। उनी शनिबार (आज) मजदुरीका लागि सुरत जाने तयारी रहेको उनले बताए।

 

चीनजान नभईकन विवाद हुँदा हत्या गरिएका केशर गंगाका नजिकको दाजु नाता पर्ने रहेको खुलेको स्थानीयले बताएका छन्। ‘त्यति बेला तिनीहरू बिच चिनपहिचान भएन, हत्या गरिएका बुढा गंगाबुढाका आफ्नै पारिवारिक रूपमा दाजु नाता पर्ने नजिकको रहेछन्,’ स्थानीय खगेन्द्र ठकुल्लाले बताए।

 

चक्कु हानेर पहिले पनि जेल परेका थिए विक

 

घरबाट हँसिया लिएर केशरको हत्या गर्ने विक यसअघि भारतको महाराष्ट्रमा चक्कु प्रहार गरेको अभियोगमा दुई वर्ष जेल सजाय काटेको प्रहरी नायव उपरीक्षक अवस्थीले बताए। उनी दसैँको लागि असोज १४ गते मात्र भारतबाट घर आएका थिए। अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय सुख्खडमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नागरिकबाट

clock शनिबार २५, असोज २०८२ १३:४८

प्रतिक्रिया