लालपुर्जा दिने भन्दै वडाध्यक्ष रिजालले दुई लाख लिएको आरोप

  शनिबार २५, असोज २०८२ ०६:४३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ का वडाध्यक्ष भुवन रिजाललाई जग्गा नाममा गरिदिने भन्दै दुई लाख लिएको आरोप लागेको छ । सोही ठाउँका पीडित कृष्ण विकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्षले रिजालले आफूबाट दुई लाख लिएको बताए ।

उनले भने ‘जग्गा नाममा गराइदिने भनेर वडाध्यक्ष रिजालले पैसा लिएको हो । मेरो जग्गाको निस्सा पनि आएको थियो । वडामा नाम पनि आएको थियो । फाइल पनि आएको थियो । पछि फाइल रोकियो । वडाध्यक्षले माथि विवाद भएर फाइल रोकिएको हो,खर्च लाग्छ भन्नुभयो । अनि पैँसा दिएको हुँ ।’

उनले भने ‘पहिला तीन लाख मागेको हो । पछि दुई लाखमा कुरा मिल्यो । त्यसपछि मैलै असार २३ गते नगदै दुई लाख दिएको हुँ ।’ उनले वडाध्यक्ष रिजालले बाटोमा फोन गरेर बोलाएको र डिग्गी खोलेर पैँसा हाल्न लगाएको बताए । 

उनले वडाध्यक्षले माथिसम्मै पैसा दिनुपर्छ भनेर पैँसा लिएको बताए । उनले आफ्नो पौने १२ कठ्ठा ऐलानी जग्गा रहेको बताए । अहिले आफूले जग्गाको लालपूर्जा नपाएको र पैँसा फिर्ता गर्न वडाध्यक्ष रिजाललाई भन्दा पैँसा पनि फिर्ता नगरेको उनले बताए । 

वडाध्यक्ष रिजालले आगामी पाँच वर्ष आफू नै वडा चलाउने र भूमि समस्या समाधान आयोगका कर्मचारी पनि पुरानै हुने भएकाले कुनै चिन्ता नलिन भनेको उनले बताए । अहिले भने सरकारले भूमि समस्या समाधान आयोग नै खारेज गरिसकेको छ ।

clock शनिबार २५, असोज २०८२ ०६:४३

प्रतिक्रिया