दसैँ मनाएर पुनः रोजगारीका लागि भारत फर्किन थाले युवाहरु
धनगढी । भारतको बिभिन्न शहरमा रोजगारी गरेर दसैँ मनाउन नेपाल आएका युवाहरु पुनः फर्किन थालेका छन । दसैँका लागि नयाँदिल्ली, मुम्बई र बैंग्लोरसम्म लगायतका सहरबाट नेपाल आएकाहरु तिहारको मुखमा पुनः रोजगारीका लागि भारत जान थालेका हुन ।
रोजगारीको अवसर नहुँदा र सजिलै भारतमा जान सकिने भएकाले धेरै सुदूरपश्चिम बासिको रोजगारीको केन्द्र भारत बन्दै आएको छ । सुदूरपश्चिमबाट लाखौंको संख्यामा यसरी युवाहरु भारतमा रोजगारी गर्न जाने गरेका भएपनि यसको एकिन संख्या समेत राख्ने गरिएको छैन ।
बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी गौरीफन्टा नाकामा भारतको बैंग्लोर जाने गाडीको लाइनमा भेटिए । एक महिनाको दसैँ बिदा सकेर उनी आफ्नो पुरानै कर्मथलो फर्किंदै थिए । विगत १० वर्षदेखि उनले बैंग्लोरमा पसिना बगाएरै आफ्नो पाँच जनाको परिवार पाल्दै आएका छन् ।
‘घरको खेतीपातीले मुस्किलले दुई महिना खान पुग्छ । पाँच जना छोराछोरी छन्, सबैलाई पढाउनु पर्यो,’ उनले भने, ‘चाडबाड सकेर परदेश जान कसलाई पो रहर हुन्छ र ? तर के गर्नु ! बाध्यताले सबै कुरा भुलाउँदो रहेछ ।’
उनको जस्तै अवस्था कैलालीको गौरीगंगा निवासी भीम साउदको पनि छ । उनी भारतको सुरतमा ज्याला मजदुरी गर्छन् र त्यही कमाइले उनको परिवारको चुलो बल्छ । ‘दसैँमा परिवारसँग भेट हुँदा जति रमाइलो लाग्छ, उनीहरूलाई छोडेर हिँड्दा मन त्यति नै भारी हुन्छ,’ साउदले भने, ‘यो बाध्यता कहिलेसम्म हो १ थाहा छैन ।’
प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका महिलाहरू घरायसी कामदारका रूपमा भारत जान थालेका छन् । उनीहरूले त्यहाँ खाना पकाउने, घर सरसफाइ गर्ने, लुगा धुने जस्ता काम गरेर परिवार पालिरहेका छन् ।
उनीहरूले आफ्ना छोराछोरीलाई पनि सँगै लगेका छन्, ताकि उनीहरूको पढाइ र भविष्य नबिग्रियोस् । उनीहरू जस्तै अहिले दसैँ मनाएर परदेशतिर लाग्नेहरू सयौँको संख्यामा लाइनमा उभिएका भेटिन्छन् ।
दसैँ मनाउन नपाएका कोही भने तिहारका लागि घर फर्किंदै गरेको भेटिन्छन् । नाकामा आउने–जानेहरूको चाहना स्वदेशमै केही काम पाए हुन्थ्यो भन्ने हुन्छ । आफूले जस्तोसुकै दुःख गर्नु परे पनि छोराछोरीको भविष्य सुन्दर होस् भन्ने सोच उनीहरूमा देखिन्छ ।
प्रतिक्रिया