कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : ओझा र स्वाँर प्यानल बीच रोचक प्रतिस्पर्धा
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा व्यवसायीबीच चुनावी सरगर्मी निकै चुलिएको छ। यही असोज २५ गते हुने निर्वाचनका लागि दुई मुख्य समूह र केही स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
सुदूरपश्चिमकै पुरानो र प्रभावशाली व्यवसायिक संस्था मानिने कैलाली उद्योग वाणिज्य संघमा यसपटक अध्यक्षदेखि सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ। अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्। साथै, पदाधिकारी र सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
घरदैलो अभियान र समर्थन जुटाउने दौड
उम्मेदवारी दर्ता भएपछि दुवै समूहका उम्मेदवारहरू मतदाताको घरदैलो पुगेर समर्थनका लागि आग्रह गरिरहेका छन्। बिहानदेखि बेलुकासम्म उम्मेदवार र उनका समर्थकहरू उद्योगी–व्यवसायी भेटघाटमा व्यस्त छन्। चुनावी सभाहरू, मतदाता भेट कार्यक्रम र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तीव्र भइरहेको छ। अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले आफ्नो टिममा सबै क्षेत्रका सक्रिय व्यवसायीलाई समावेश गरिएको बताउँदै आगामी कार्यकालमा व्यवसाय प्रवद्र्धनका ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार, “हामी व्यवसायीका वास्तविक समस्या समाधानमा केन्द्रित रहनेछौं। सुदूरपश्चिमको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रलाई सक्षम र प्रतिस्पर्धी बनाउने हाम्रो मुख्य एजेण्डा हो।”
त्यसैगरी अर्का अध्यक्ष पदका उम्मेदवार रुपेश स्वाँरले आफू व्यवसायीहरूको सुझाव र मागका आधारमा उम्मेदवार बनेको बताउनुभयो। एक पटक अध्यक्ष पदमा पराजित भइसकेका स्वाँरले यसपटक न्याय हुने र विजयी हुने आत्मविश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामी अरूका एजेण्डा होइन, व्यवहारिक र पूरा गर्न सकिने योजनासहित मैदानमा उत्रिएका छौं। व्यवसायीका अधिकार र सम्मानको सुनिश्चितता हाम्रो प्राथमिकता हो।”
२,२७४ मतदाताले निर्धारण गर्नेछ नयाँ नेतृत्व
कैलाली उद्योग वाणिज्य संघका २ हजार २ सय ७४ जना सदस्यले यसपटक मतदानमा सहभागी हुनेछन्। संघमा आवद्ध व्यवसायीहरूको ठूलो संख्याका कारण यो निर्वाचन स्थानीय व्यापारिक समुदायमा आमनिर्वाचनको जस्तो माहोल ल्याएको छ। धनगढीका होटल, पसलदेखि व्यापारिक प्रतिष्ठानसम्म अहिले चुनावकै चर्चा छ।
प्रमुख एजेण्डास् व्यवसायिक वातावरण सुदृढीकरण
व्यवसायीहरूको अपेक्षा अनुसार, नयाँ नेतृत्वले सुदूरपश्चिमको व्यवसायिक वातावरण सुदृढ पार्ने, उद्योग स्थापना र विस्तारका लागि नीतिगत सुधारका पहल गर्ने र केन्द्र तथा प्रदेश सरकारसँग ठोस मागहरू प्रस्तुत गर्ने तयारी गरेको छ। संघका पूर्वअध्यक्षहरूका अनुसार, हरेक कार्यकालमा नेतृत्व परिवर्तनसँगै संघको कार्यशैलीमा नयाँपन आएको भए पनि व्यवसायीका मौलिक समस्या – कर, प्रशासनिक झन्झट, नीति–कार्यन्वयन अभाव – अझै समाधान हुन सकेका छैनन्।
‘प्रतिष्ठाको लडाइँ’को रूपमा हेरिएको चुनाव
विगतका चुनावहरूमा झैं यसपटक पनि संघको नेतृत्वका लागि हुने प्रतिस्पर्धा ८८‘प्रतिष्ठाको लडाइँ’८८का रूपमा हेरिएको छ। धनगढीका उद्योगीहरूका अनुसार, कैलाली उद्योग वाणिज्य संघको नेतृत्वले सुदूरपश्चिमको आर्थिक दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसपटकको निर्वाचन अधिक जिम्मेवार र निर्णायक बन्नेछ। चुनावी माहोलले अहिले धनगढीको व्यवसायिक बजारमा नयाँ ऊर्जा थपेको छ। असोज २५ गते हुने मतदानले सुदूरपश्चिमका व्यवसायीहरूलाई नयाँ नेतृत्व दिनेछ, जसबाट प्रदेशको आर्थिक र व्यवसायिक गति कुन दिशातिर मोडिने भन्ने निर्धारण हुनेछ।
पुस्कर ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्टले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्यानलबाट १३ जनाले सदस्यमा उम्मेदवारी दिएका छन् । यस्तै स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार बनेका छन् । उक्त समूहबाट पनि १३ जना सदस्यमा उम्मेदवार छन् ।
निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि छ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन् । असोज २५ गते हुने निर्वाचनले संघमा अध्यक्षसमेत गरी नौ जना पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । नेतृत्व चयनका लागि निर्वाचनमा दुई हजार २७४ जना व्यवसायी मतदाता छन् ।
प्रतिक्रिया