युद्धविराम प्रस्ताव हमासद्धारा स्वीकार, विपिन रिहाइ रिहा हुने सम्भावना बढ्यो
काठमाडौँ । अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढेको छ । इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् ।
युद्धविराम पूर्णरूपमा कार्यान्वयन भएमा पहिलो चरणमा हमासले नियन्त्रणमा रहेका सबै बन्धकलाई रिहाइ गर्नुपर्नेछ । इजरायल र हमासले ट्रम्पको प्रस्तावमा अनौपचारिक सहमति जनाएकाले जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको हो ।
युद्धविराममा औपचारिक सहमति गर्न सोमबार मध्यस्थकर्ताको सहजीकरणमा इजरायल र हमासका प्रतिनिधिबीच इजिप्टको राजधानी कायरोमा अप्रत्यक्ष वार्ता हुँदै छ । इजरायलको बन्दी मामिलाका प्रतिनिधि गाल हिर्सले आइतबार बिहान इजरायलस्थित अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख ज्युलियन लेरिसनसँग बन्धक र कैदी साटासाट गर्ने विषयमा तयारी बैठक गरेका छन् ।
यसबारे उनले एक्समा लेख्दै जानकारी दिएका हुन् । उनी गाजाको युद्ध अन्त्य र बन्धक मुक्तका लागि भइरहेको अप्रत्यक्ष वार्तामा सहभागी हुने इजरायली वार्ता टोलीका सदस्य हुन् । इजिप्टमा हुने वार्ताले बन्धक–कैदीलाई साटासाट प्रक्रिया सुरु गर्न आवश्यक तयारीको समयसीमा तय गर्ने अपेक्षा राखिएको छ । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको छैन । उनको रिहाइका लागि नेपाल सरकारले पहल गर्दै आएको छ ।
विपिनलाई रिहा गर्न दबाब दिनका लागि उनकी आमा र बहिनी पुष्पा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयसमेत पुगेका थिए । उनीहरूले यूएन महासचिव एन्टोनिय गुटरेससँग भेटेर विपिनको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसअघि उनीहरू इजरायल पनि पुगेका थिए । इजरायलमा उनीहरूले राष्ट्रपति आइजक हर्जग र संसद्का अध्यक्ष आमिर ओहोनासँग भेट गरेका थिए ।
प्रतिक्रिया