गोदावरीमा दुई पाङ्ग्रे सवारी साधनको अव्यवस्थित प्रयोग, फिर्ता गर्न ताकेता
अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा दुई पाङ्ग्रे सवारी साधनको अव्यवस्थित प्रयोग गरिएको भन्दै फिर्ता गर्न ताकेता गरिएको छ । नगरपालिकाले वडा कार्यालय, मालाखेती अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, कृषि तथा पशुपन्छी उपचार केन्द्रहरूलाई पत्राचार गर्दै कार्यालयका शाखा प्रमुख र प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरू र कर्मचारीहरूले प्रयोग गरेका सवारी साधन फिर्ता गर्न ताकेता गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको हस्ताक्षर रहेको पत्रमा तीन दिन भित्र उक्त सवारी साधन फिर्ता गर्न भनिएको छ ।
पत्रमा भनिएको छ ‘गोदावरी नगरपालिकाको मिति २०८२ असोज ८ गते बसेको १३३ औँ कार्यपालिका बैठकको निर्णयअनुसार यस कार्यालयका नाममा रहेका तथा आम्दानी बाँधिएका दुई पाङ्ग्रे सवारी साधनहरू (मोटरसाइकल र स्कुटर) अव्यवस्थित रूपमा जुनसुकै पदाधिकारी र कर्मचारीहरूले प्रयोग गरिरहेको हुँदा कार्यालयका शाखा प्रमुख प्राविधिक कर्मचारी र वडा अध्यक्षज्यूहरूले प्रयोग गरिरहेका बाहेकका अन्य पदाधिकारीहरू र कर्मचारीहरूले सूचनाको मितिले ३ दिन भित्र कार्यालयको जिन्सी शाखामा अनिवार्य रूपमा बुझाउनुहुन जानकारी गराइन्छ ।’
पत्रमा सवारी साधन नबुझाइए नियमानुसार कारबाही हुने समेत उल्लेख छ ।
प्रतिक्रिया