कोजाग्रत पूर्णिमासँगै बडादशैँ समापन

  मङ्गलबार २१, असोज २०८२ ०६:२८

काठमाडौँ। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन्। नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन भएको हो।

आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। शम्भूप्रसाद ढकालले यस पर्वको विशेष महत्त्वबारे जानकारी गराए।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यो पर्वको विशेष महत्त्व छ। यस पूर्णिमालाई 'कौमुदी' पनि भनिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत शास्त्रीय आधारमा रहेको बताउनुभयो। महालक्ष्मीसँगै सोमबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ।

शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्ति (सबै बलिपूर्ति) को काम पनि सोमबार नै समाप्त भएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिनेक्रम पनि एक वर्षका लागि सकिएको छ।

यसैगरी, कोजाग्रत पूर्णिमा र पूर्णिमा व्रत पनि आज (मङ्गलबार) रहेको समितिका अध्यक्ष प्रा. ढकालले जानकारी दिए। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ भने चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले मङ्गलबार परेको हो।

clock मङ्गलबार २१, असोज २०८२ ०६:२८

प्रतिक्रिया