कालोपत्रेको पर्खाइमा बाजुराको डाब खप्तड पर्यटक सडक

  सोमबार २०, असोज २०८२ १०:०७

बाजुरा । बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा रहेको छ । डाब बजारदेखि खप्तडसम्मको झन्डै २६ किलोमिटर यो सडकको २०६६ सालदेखि निर्माण कार्य सुरु भएको थियो । बुढीगङ्गा नगरपालिका–१० को डाब बजार हुँदै बदेडा, सेलापाखा, पिपलगाउँ, जुवापानी हुँदै खप्तड छेडेदह गाउँपालिका–२, गाँज्रा हुँदै १ को काँडासम्म सडक पुगेको छ । यहाँदेखि झन्डै १२ किलोमिटरभन्दा बढी खप्तड पुग्न लाग्छ । त्यहाँसम्म भने अझै सडक निर्माण गर्न बाँकी रहेको छ । डाब खप्तड पर्यटकीय सडकले पर्यटकलाई मात्र सहज नभई बुढीगङ्गा र खप्तड छेडेदहलगायतका स्थानीयवासीलाई समेत निकै सहज बनाएको छ । 

सडक निर्माण भएपछि यहाँका स्थानीयवासीले गाउँमा उत्पादन गरेको तरकारी तथा फलफूल जस्ता वस्तुलाई बजार पु¥याउन केही सहज भएको थियो तर बर्खाको समय यो सडक धेरै ठाउँमा भत्किने, पहिरो जाने गरेकाले त्यतिबेला उनीहरूलाई सामान ढुवानी त के आफैँलाई समेत हिँड्डुल गर्नसमेत निकै सास्ती हुने गरेको छ । गाउँमा स्याउ, सुन्तला, मार्सो, कोदो, फापर, आलु ओखरलगायत विभिन्न तरकारी तथा फलफूल उत्पादन हुन्छ तर सडक अलपत्र हुँदा ती वस्तु बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, सिग्राका पुरनबहादुर रावलले बताउनुभयो । 

यहाँका स्थानीयवासीलाई आफ्नो उत्पादन बिक्री गर्न निकै कठिनाइ छ । गाउँमा गाडी आउँदैन । बोकेर बजार लान सकिँदैन । सडकको यस्तो हालत भएको छ । यहाँका अधिकांश महिलाले पिठ्युँमा बोकेर पनि डाब बजार, मालिका, रिठा बेतालमाण्डौँ  बाम्कालगायतका बजारमा आफ्नो उत्पादन बिक्री गर्ने गरेको रावलले बताउनुभयो ।

२०६६ साल वैशाखदेखि यो सडक निर्माणको काम सुरु गरेको हो । यो सडक झन्डै पाँच वर्षपछि काँडासम्म मात्र पुगेको छ । त्यसपछि खप्तडमा सडक लान कुनै पहल भएको छैन । यसका लागि हामीले धेरै निकायसँग कुरा राखेका हौँ तर कहीँकतैदेखि यसको सुनुवाइ नभएपछि अहिले यो सडक बेहाल अवस्थामा रहेको खप्तड छेडेदह गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रावलले बताउनुभयो ।

उहाँले जिल्लाका बडीमालिका कालाजाग्रा बुढीनन्दा जस्तै यो खप्तड पनि पर्यटकीय स्थलका रूपमा रहेको बताउनुभयो । यसको संरक्षण तथा प्रवर्धन भने अझै हुन सकेको छैन । झन्डै २६ किलोमिटर रहेको यो सडकको निर्माण कार्यमा २० करोड रुपियाँ खर्च भइसक्यो । सडक ठाउँमा पुगेको छैन । कच्ची रूपमा निर्माण गरेको सडक पनि कालोपत्रे भएको छैन भन्नुभयो ।

सडक कालोपत्रे हुने हो भने यहाँका स्थानीयवासीले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा भौँतारिनुपर्ने थिएन । यहाँ अर्गानिक फलफूल तथा खाद्यान्न राम्रो उत्पादन हुन्छ । बर्खाको समय बाटो नभएकाले त्यो बजारसम्म लान सकिँदैन । त्यसैले यो सडक कालोपत्रे हुने हो भने यहाँका स्थानीयवासीले आफूले उत्पादन गरेको तरकारी तथा फलफूल जस्ता वस्तुबाट नै जीविकोपार्जन गर्न सक्ने रावलले बताउनुभयो ।

clock सोमबार २०, असोज २०८२ १०:०७

प्रतिक्रिया