धनगढीमा सार्वजनिक शौचालय निर्माण गरिदैँ
धनगढी । कैलालीको धनगढीमा सार्वजनिक शौचालय निर्माणको कामलाई तिव्रता दिइएको छ । धनगढी उपमहानगरपालिकाले नगरका मुख्य तथा व्यस्त चोकहरूमा आधुनिक ‘स्मार्ट’ शौचालयहरूको निर्माण कार्यलाई तीव्रता दिएको हो ।
उपमहानगरपालिकाले धनगढीका मुख्य व्यापारिक केन्द्र, चौराहा र सार्वजनिक कार्यालयहरू वरपर शौचालय निर्माण गर्न लागेको हो । उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टका अनुसार, नगरवासीको समस्यालाई समाधान गर्न उपमहानगरपालिकाले योजनाबद्ध रूपमा आधुनिक शौचालय निर्माणको काम अघि बढाएको हो । भट्टका अनुसार नगरका विभिन्न स्थानमा शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ र चाँडै नै सञ्चालनमा आउनेछ ।
उपमहानगरपालिकाले पहिलो चरणमा नगरका सबैभन्दा बढी चहलपहल हुने स्थानहरूलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अगाडि, जिल्ला प्रशासन कार्यालय अगाडि र डिभिजन वन कार्यालय अगाडि गरी चार स्थानमा आधुनिक शौचालय निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।
यीमध्ये जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालय अगाडिको शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको इन्जिनियर भट्टले जानकारी दिए । धनगढी उपमहानगरपालिकाले करिब एक करोड २० लाख ४० हजारको लागतमा यी चार शौचालय निर्माण गर्न लागेको हो । यसका साथै, उपमहानगरपालिका परिसरमा करिब ३९ लाखको लागतमा निर्माण भएको शौचालय सञ्चालनका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा जिल्ला प्रशासन कार्यालय अगाडि निर्माण भएको वाटर एटीएमसहितको शौचालय पनि हस्तान्तरणको प्रक्रियामा छ । यी शौचालयहरूको कुल निर्माण लागत करिब एक करोड ३८ लाख रुपैयाँ रहेको र प्रति शौचालय औसत २३ लाख रुपैयाँ खर्च भएको इन्जिनियर भट्टले बताए ।
निर्माण भइरहेका यी शौचालयहरू परम्परागतभन्दा फरक र आधुनिक सुविधायुक्त हुनेछन् ।
प्रतिक्रिया