कञ्चनपुरमा विपद्जन्य घटनाबाट जनधनको ठूलो क्षति

  शनिबार १८, असोज २०८२ ०७:४८

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्जन्य घटनाबाट जनधनमा ठूलो क्षति पुगेको छ। आगलागी, करेन्ट, सर्पदंश र जङ्गली जनावरको आक्रमण तथा बाढीजन्य विपद्ले जिल्लावासीलाई ठूलो मार परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आगलागीबाट हालसम्म तीन घर पूर्ण रूपमा र पाँच घर आंशिक रूपमा जलेका छन्। घरभित्रका बहुमूल्य सामान, महत्त्वपूर्ण कागजात र भण्डारण गरिएको अन्न जलेर नष्ट हुँदा करिब २२ लाख ३२ हजार बराबरको क्षति भएको छ। सो क्रममा एक चौपायाको मृत्यु र १२ चौपाया घाइते भएका छन्। 

त्यस्तै, करेन्ट लागेर तीन जनाको मृत्यु, पाँच जना घाइते र एउटा भैँसीको मृत्यु भएको छ। सर्पदंशका कारण एक जनाको ज्यान गइसकेको छभने ३१ जना घाइते भएका छन्। जङ्गली जनावरको आक्रमणबाट तीन जना घाइते भएका छन्। तीमध्ये दुई जना बाघको आक्रमण र एक जना हात्तीको आक्रमणमा परेका हुन्। 

यसैगरी १० चौपाया मारिएका, एक चौपाया घाइते भएका र २० भन्दा बढी घर आंशिक क्षतिग्रस्त भएका छन्। यसरी जनावर आक्रमणबाट मात्र करिब १० लाख १० हजार बराबरको क्षति भएको छ।

यसैगरी नदीमा डुबेर दुई जनाको मृत्यु, तीन जना बेपत्ता र एक चौपायाको मृत्यु भएको छ। बाढीबाट चार घर पूर्ण क्षति र ६३ घरमा पानी पसेर सामान्य क्षति पुगेको छ। यसरी वर्षाजन्य विपद्ले करिब रु चार लाख ४५ हजार बराबरको क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। 

clock शनिबार १८, असोज २०८२ ०७:४८

प्रतिक्रिया