धनगढीका भीमराज धामी जेन्जी प्रदर्शनका दोस्रो सहिद

  सोमबार १३, असोज २०८२ ०७:०७

धनगढी । गत भदौ २४ गते काठमाडौंमा भएको जेन्जी प्रदर्शनमा धनगढी–७ का युवा भीमराज धामी पनि सहिद भएका हुन्। धामीलाई कालिमाटी चोकमा गोली लागेको थियो। छातीमा गोली लागेका धामीसहित दुई जना युवाको कालिमाटी चोकमा ज्यान गएको थियो। आमा सुपारीदेवी धामी र बुवा भक्तबहादुर धामीका आठ भाइ छोरा मध्ये भीमराज सबैभन्दा कान्छा छोरा हुन्। भीमराजको जन्म २०५४ साल भदौ ३ गते भएको थियो। गत भदौ २४ गते उनको उमेर २८ वर्ष २१ दिन पुगेको थियो।

विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका भीमराजले थप अध्ययन गरेनन्। कोरिया जाने भनेर उनले थप अध्ययन नगरेको उनका दाजु कविराज धामीले बताए। कोरिया जाने योजना पूरा नभएपछि भीमराजले पाँच वर्ष अगाडि काठमाडौंमा व्यवसाय थालेका थिए। किर्तिपुरमा २५ रोपनी जग्गा लिजमा लिएर उनले कृषि फर्म चलाएका थिए। गाई पालन, डेरी र धान-गहुँ उत्पादन गर्दै आएका धामीले आफ्नो फर्ममा तीन जनालाई पूर्णकालिन रोजगारी दिएका थिए।

एक वर्ष अगाडि मात्रै भएको थियो बिहे
भीमराजको एक वर्ष अगाडि मात्रै बिहे भएको थियो। गत असारमा मात्रै उनको छोराको जन्म भएको थियो। छोरालाई तीन महिना पूरा नहुँदै भीमराज जेन्जी आन्दोलनमा सहिद हुन पुगे। मुलुकमा भ्रष्टाचार बढेको भन्दै भएको आन्दोलनमा सरिक हुँदा भीमराज जस्तै ७५ जना युवाको ज्यान गयो।

भीमराज भदौ २४ गते बिहानै आफ्ना साथीहरूसँगै आन्दोलन गर्न किर्तिपुर गएका थिए। उनको टोली किर्तिपुर, बल्खु हुँदै दिउँसो १२ बजे कालिमाटी पुगेको भीमराजका दाजु कविराजले बताए। कालिमाटी प्रहरी चौकी अगाडि छातिमा गोली लागेर भाइ ढलेको कविराज बताउँछन्। 'भाइ त्यो दिन आन्दोलनमा साथीहरूसँगै गएको रहेछ। आमालाई आज डेरीमा आउन्न, आन्दोलनमा जान्छु भनेको रहेछन्,' उनले भने, 'आमाले आन्दोलनमा नजान भने पनि देशमा भ्रष्टाचार बढेको र यसको अन्त्य गर्ने आन्दोलनमा जानुपर्छ भनेर गएको रहेछ। नजिकैबाट छातीमा गोली लाग्दा भाइ र उसको साथी त्यहीँ ढलेछन्। हामीले चार बजे मात्रै थाहा पायौँ।'

भीमराजका बुवा भक्तबहादुरको निधन भइसकेको छ। तर बुढेसकालमा आमा सुपारीदेवीले सबैभन्दा कान्छो छोरा गुमाउनुपरेको छ। कलिलो उमेरकी बुहारीको सिन्दुर पुछिएको र तीन महिना पनि नपुगेको नाति टुहुरो भएको पीडाले अहिले सुपारीदेवी शोकको सागरमा डुबेकी छन्। उनको आँखा २४ गतेदेखि ओभानो भएको छैन।

जेन्जी सहिदको माग पूरा हुनुपर्छ : दाजु कविराज
राजनीतिक दल र तिनका नेताहरूका कारण मुलुकमा भ्रष्टाचार र बेथिति बढेकाले जेन्जी युवाहरूले सडक आन्दोलन गर्नुपरेको ठहर भीमराजका दाजु कविराज धामीको छ। उनले भीमराज जस्तै ७५ जना युवाको साहदतको सम्मान राज्यले गर्नुपर्ने बताएका छन्। भ्रष्टाचार अन्त्य गर्न सक्यो र दलहरू सच्चिए जेन्जी सहिदहरूको बलिदानको सम्मान हुने कविराजको भनाइ छ। उनले जेन्जी सहिदको सम्मान राज्यले गर्नुपर्ने, घाइतेहरूले उचित उपचार पाउनुपर्ने बताएका छन्।

कविराज धामीले आफ्नो सहिद भाइको सम्मानमा धनगढी(७ जाखोर ताल नजिकको चोक र सडकको नामाकरण गरियोस् भन्ने आग्रह गरेका छन्। धामीका छिमेकी तिलक मौनीले पनि धनगढीका दुई जना जेन्जी युवाको सम्मान गरियोस् भन्ने माग राखेका छन्। मौनीले भने, 'हामीले देवहरिया वनस्पति उद्यान नजिकको चोकको नाम ुजेन्जी सहिद भीम चोकु राख्नुपर्ने माग गरेका छौँ। यसमा सबै टोलबासीको समेत सहमति छ,' उनले भने, 'जेन्जी युवाहरूको बलिदानको कदर गर्दै सबै राजनीतिक दल र तिनका नेताहरूले पनि सुध्रिनु आवश्यक छ।'

धनगढीका दुई युवाले काठमाडौंमा भएको जेन्जी आन्दोलनमा एकै दिन ज्यान गुमाएका हुन्। भीमराज कालिमाटी चोकमा ढलेका थिए भने धनगढी-५ तारानगरका गौरव जोशीलाई नयाँ बानेश्वरमा गोली लागेको थियो। यो पटकको जेन्जी आन्दोलनमा सुदूरपश्चिमका ९ जना युवाको ज्यान गुमेको छ। 

clock सोमबार १३, असोज २०८२ ०७:०७

प्रतिक्रिया