पुनर्वास नगरपालिका जल्दा साढे पाँच करोडको क्षति

  आइतबार १२, असोज २०८२ ०७:०२

कञ्चनपुर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण यहाँको पुनर्वास नगरपालिकाले साढे पाँच करोड बढीको क्षति बेहोर्नुपरेको छ । 

आन्दोलनमा भएको घुसपैठका कारण नगरपालिकाका दुई वटै भवन जलेर नष्ट भएको छ । जसबाट पाँच करोड ५४ लाख ८९ हजार २५१ रुपियाँ बराबरको क्षति पुगेको पालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

विसं २०७५ असारमा रोयल निर्माण कम्पनी धनगढीले झन्डै ६ करोड ६८ लाख लागतमा पुनर्वास नगरपालिकाको पहिलो प्रशासकीय भवन निर्माण गरेको थियो । यसैगरी, एक करोड ६३ लाखमा विस। २०८० असार मसान्तमा आशिस रश्मि जेभी निर्माण सेवा धनगढीले पालिकाको दोस्रो भवन निर्माण गरेको थियो ।  

झन्डै आठ करोड लागतमा निर्माण गरिएका पुनर्वास नगरपालिकाका यी भवनहरू गत भदौ २४ गते आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेपछि पुर्णरुपमा जलेर नष्ट भएको छ । 

आगजनीबाट नगरपालिकामा एक करोड १९ लाख ६५ हजार १८० मूल्य बराबरका सवारी साधन नष्ट भएका छन् । केही मोटरसाइकल, कार र अन्य सवारी साधनमा १६ लाख बराबरको आंशिक क्षति पुगेको सो कार्यालयले जनाएको छ ।

तोडफोड र आगजनीबाट फर्निचर, मेसेनरी औजार लगायत खप्ने सामग्रीमा दुई करोड ४८ लाख ५३ हजार बराबरको क्षति पुगेको विवरण सङ्कलन संयोजक नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताउनुभयो ।

यसैगरी आगजनीबाट नगद रकम समेत जलेर नष्ट भएको बताइएको छ । पालिकाको राजस्व शाखा, उद्गम र कृषि विकास शाखाबाट बैङ्क दाखिला गर्न बाँकी एक लाख ५२ हजार १४० रुपियाँ समेत जलेर नष्ट भएको नगरपालिकाले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ ।

आगजनी र तोडफोडबाट पालिकाका दुईवटै भवनमा एक करोड ३० लाख बराबरको क्षति पुगेको नगरपालिकाका शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार, संरचना निर्माणमा मात्र एक करोड ३० लाख खर्च लाग्ने देखिएको छ । 

यसैगरी, उपकरण, सवारी साधन तथा अन्य कार्यालयको अत्यावश्यक सामग्री खरिदमा मात्र चार करोड २४ लाखबढी खर्च लाग्ने नगरपालिकाले जनाएको छ । जेनजी आन्दोलनको क्रममा भएको घुसपैठका कारण नगरपालिकाले जिल्लामै अत्यधिक क्षति बेहोर्नु परेको छ । 

आगजनीपछि केही साता सेवा प्रवाह बन्द रहे पनि अहिले अत्यावश्यक सेवाहरू भने सञ्चालनमा छन् । दाताहरूले कम्प्युटर, टेबुल, कुर्सीलगायत उपकरण तथा सामग्रीहरू पालिकालाई सहयोग गरेपछि पालिका सञ्चालनमा आएको छ । नगरप्रमुख तोयप्रसाद शर्माले दाताहरूले उपकरण लगायत सामग्रीहरु सहयोग गरेपछि नगरपालिका सञ्चालनमा आएको बताउनुभयो । 

“संघ संस्थाहरूले उपकरण सहयोग गरेपछि अहिले इन्टरनेट जडानको काम गरेर अत्यावश्यक सेवा सुचारु गरेका छौँ’ नगरप्रमुख शर्माले भन्नुभयो, ‘भवन पुनः निर्माणको विषयमा अहिले केही भन्न सकिने अवस्था छैन ।”

clock आइतबार १२, असोज २०८२ ०७:०२

प्रतिक्रिया