धनगढीमा स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि साझा फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा

  शनिबार ११, असोज २०८२ ०६:२०

धनगढी । धनगढी उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरूबाट निस्कने जोखिम युक्त फोहर व्यवस्थापनका लागि नगरपालिका स्तरिय साझा फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ।

हेकाफ ३६० को प्राविधिक सहयोग र यूएनडीपी विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा धनगढी उपमहानगरपालिका–२, परानो भन्सार रोडमा ६० लाख रुपैयाँ लागतमा उक्त केन्द्र निर्माण गरिएको हो।

हेकाफ ३६० की कार्यक्रम अधिकृत प्रेरणा डंगोलका अनुसार सबै स्वास्थ्य संस्थाहरूबाट संकलन गरिने जोखिमयुक्त फोहरलाई सो व्यवस्थापन केन्द्रमा ल्याएर ‘अटो–क्लेभ मेसिन’ प्रयोग गरी उच्च तापक्रम र उच्च प्रेसरमा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाईनेछ। त्यसपछि मात्र फोहरको वर्गीकरण गर्ने व्यवस्था मिलाइएको छ।

धनगढी उपमहानगर क्षेत्रमा हाल १७१ वटा स्वास्थ्य संस्था छन्। जसमध्ये २१ वटा उपमहानगरपालिका मातहतका हुन् । ती संस्थामा स्वास्थ्य सेवा प्रदान गर्दा उत्पादन हुने फोहर स्रोतमै पृथकीकरण गर्ने प्रणाली सुरु गरिएको छ। साथै, घरदैलो खोप कार्यक्रममा समेत प्रयोग हुने खोप झोलामा सुइ काट्ने व्यवस्था गरिएको छ।

हेकाफ ३६० का कार्यकारी निर्देशक मोचन भट्टराईका अनुसार हालै गरिएको प्रारम्भिक वित्तीय विश्लेषण अध्ययन अनुसार, कुनै पनि स्वास्थ्य संस्थाको १ किलो जोखिमयुक्त फोहर व्यवस्थापनका लागि ४३ देखि ५८ रुपैयाँसम्म सेवा शुल्क पर्न आउने देखिएको छ। धनगढीमा सामान्य फोहर व्यवस्थापन भए पनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिम युक्त फोहर व्यवस्थापन भने ठूलो चुनौतीका रूपमा रहेकोमा अब यो केन्द्रले समाधान ल्याउने अपेक्षा गरिएको छ।

clock शनिबार ११, असोज २०८२ ०६:२०

प्रतिक्रिया