कैलालीमा घुमुवा प्रहरी बन्न हानथाप, आन्तरिक गुटबन्दी छताछुल्ल

  शुक्रबार १०, असोज २०८२ ०७:५४

धनगढी । कैलालीमा अपराध नियन्त्रण र सूचना संकलनको नाममा वर्षौँदेखि परिचालन हुँदै आएका ‘सादा पोसाक घुमुवा प्रहरी’ फेरि विवादको भुमरीमा फसेका छन्। प्रहरी अधिकारीहरूको रोजाइमा तोकिने यी टोलीहरू गैरव्यावसायिक गतिविधिमा संलग्न हुँदै आएको आरोप पटक–पटक उठ्दै आएको छ। यसपटक प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेको आठ सदस्यीय टोलीमाथि तस्करीसँग मिलेमतो गर्ने, असुली गर्ने, चोरीमा संलग्न समूहसँग समेत बार्गेनिङ गर्ने जस्ता गम्भीर आरोप सार्वजनिक भएका छन्। हालै भारततर्फ भएको ठूलो धन चोरी प्रकरणमा समेत सो टोलीको नाम जोडिएपछि आलोचना चुलिँदै गएको हो।

खारेजीमा पुगेको घुमुवा टोली

विवाद बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्रबहादुर चन्दले घुमुवा प्रहरी टोली खारेज गर्ने निर्णय गरेका छन्। उनले औपचारिकरुपमा सादा पोसाक टोलीलाई जिम्मेवारी मुक्त गरेका छन्। तर, टोली खारेजीसँगै विवाद शान्त हुनुभन्दा उल्टै नयाँ स्वरूप लिन थालेको छ।

प्रतिस्पर्धीमाथि प्रहार

घुमुवा प्रहरी खारेजीपछि एक अर्काका प्रतिस्पर्धी प्रहरी अधिकृतहरूमाथि बिभिन्न क्षेत्रबाट आक्रमण सुरु गरेको आरोप लागेको छ। प्रहरी सगंठन तथा अन्य माध्यम प्रयोग गरी प्रतिस्पर्धी अधिकारीलाई लक्षित गरी एकपछि अर्को आरोप सार्वजनिक गराइरहेको बताइन्छ। सार्वजनिक हुने गरी आन्तरिक प्रतिस्पर्धीलाई दबाउने प्रवृत्ति देखिनु संगठनकै लागि चिन्ताजनक भएको सरोकारवालाको भनाइ छ।

आन्तरिक सत्ता संघर्ष सतहमा

स्रोतका अनुसार घुमुवा प्रहरी खारेज हुने प्रक्रियाले प्रहरी संगठनभित्रैको सत्ता संघर्षलाई सतहमा ल्याइदिएको छ। गजेन्द्रबहादुर चन्द नेतृत्वको टोली हटाइए पनि यसले प्रहरीभित्र रहेको गुटबन्दी अझै छताछुल्ल पारेको छ। स्थानीय स्तरमा गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीमाथि प्रश्न उठाइएका बेला, प्रतिस्पर्धीलाई मिडियामार्फत बदनाम गर्ने प्रवृत्ति देखिनु संगठनको छविलाई थप नोक्सान पुर्याउने खतरामा रहेको विश्लेषकहरूको टिप्पणी छ।

जनविश्वास गुमाउने खतरा

सार्वजनिक सुरक्षाको संवेदनशील जिम्मेवारी बोकेको प्रहरी संगठनभित्र यस्ता विवाद, आरोप–प्रत्यारोप र मिडिया ट्रायलको संस्कृति मौलाउँदा जनताको विश्वास कमजोर हुने जोखिम बढेको छ। स्थानीय सरोकारवालाले प्रहरी संगठनभित्र हुने आन्तरिक विवाद वा गुटबन्दी छताछुल्ल गर्नुभन्दा आन्तरिक संयन्त्रमार्फत छानबिन गरी कानुनी ढंगले टुंग्याउनुपर्नेमा जोड दिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक राज कुमार सिहंले भने मिडियामा आएका कुरा भन्दा पनि वास्तबिक बिषयबारे अनुसन्धान भइरहेको बताएका छन् ।

clock शुक्रबार १०, असोज २०८२ ०७:५४

प्रतिक्रिया