कञ्चनपुर फेरियो लोपोन्मुख राउटेको जीवनशैली

  बुधबार ०८, असोज २०८२ ०७:०९

कञ्चनपुर । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरू यति बेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरू यति बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरू समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रूपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उनले भने । 

जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उनको गुनासो छ । 

“हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्थ्यो”, राउटेले भने, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।”

समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उनले भने, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।” 

उनले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताए । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उनले भने, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।” 

करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् । 

“हाम्रो पुर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भने, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।”

जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ । 

clock बुधबार ०८, असोज २०८२ ०७:०९

प्रतिक्रिया