गड्डाचौकी भएर महेन्द्रनगर आउने भारतीय सवारी साधनमा ‘टाइम कार्डु प्रणाली
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाका गड्डाचौकी भएर महेन्द्रनगर आउने भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली लागु गरेको छ । गड्डाचौकी नाका भएर नेपाली यात्रु बोकेका भारतीय नम्बर प्लेटका सवारी साधनले ‘टाइम कार्ड’ का आधारमा नेपाल प्रवेश गर्न पाउने भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले चाडपर्वलाई मध्यनजर गर्दै टाइम कार्डका आधारमा भारतीय सवारी साधनले नजिकका सहर सम्म यात्रुहरू छोड्न पाउने व्यवस्था मिलाइएको बताउनुभयो ।
यसअघि गत साउन महिना यता सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले गड्डाचौकी नाका भएर भारतीय सवारी साधन नेपाल प्रवेशमा पूर्णतया रोक लगाएको थियो ।
रोजगारीका लागि भारतमा रहेका नेपालीहरू चाडपर्व मनाउन कञ्चनपुर आउने क्रम बढ्दै गए पनि नाकामा भारतीय नम्बर प्लेटका गाडीहरू प्रवेश गर्न नपाउँदा उनीहरूले झन्डै २ किलोमिटर पैदल आउनुपर्ने बाध्यता थियो । पिठ्युँमा सामान बोकेर पुलदेखि नेपाल तर्फ पैदल आउँदा सास्ती बेहोर्दै आएका नेपालीहरूले केही सहजता भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भन्सार महसुल ऐन, २०८१ बमोजिम भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको बजार सम्म आउने जाने कार्यका लागि टाइम कार्ड प्रणाली लागु गरिएको बताउनुभयो ।
भारतबाट सवारी बोकेर ल्याएका सवारी साधनले छोटो समयका लागि नजिकको बजार महेन्द्रनगर, सुडा वा दैजी सम्म छोड्न पाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ बोहराले बताउनुभयो । तर नेपालबाट भने ती सवारी साधनले यात्रुहरू भारत तर्फ बोक्न नपाउने प्रनाउ बोहराले बताउनुभयो ।
प्रतिक्रिया