कैलालीमा दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जना पक्राउ

  मङ्गलबार ०७, असोज २०८२ १८:२३

धनगढी । जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी  कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द,गौरीगंगा-३ बस्ने २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको पुष्टि गरे ।

चन्दले उनीहरूको साथबाट टाईप-५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको बताए । पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान  दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

clock मङ्गलबार ०७, असोज २०८२ १८:२३

प्रतिक्रिया