जेनजी भन्दै वडाध्यक्षले युवालाई ढुंगाले हाने, प्रहरीले गर्यो पक्राउ
कैलाली । कैलालीमा एक युवालाई वडाध्यक्षले भौतिक आक्रमण गरेका छन् । घोडाघोडी नगरपालिका- ८ का वडाध्यक्ष वीरबहादुर साउदले विकाससम्बन्धी प्रश्न गरेपछि आफूमाथि आक्रमण भएको स्थानीय सुनिल खड्काले बताए ।
‘वडाध्यक्षलाई मैले तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गरेको थिएँ, उहाँले केहीबेरपछि तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हान्नुभयो’ उनले भने ।
आफूलाई जेनजी आन्दोलनमा संलग्न भएको र वडा कार्यालय जलेको भन्दै आक्रमण गर्न लगाएको उनले आरोप लगाएका छन् ।
‘यो जेनजीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो ’ घाइतेले इलाका प्रहरी कार्यालयमा सुखडमा प्रहरीसमक्ष भने ।
घाइतेका दाजु हिक्मत खड्काले पनि भाइमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्ने माग गरे ।
‘विकासको लागि मेरो भाइले कुरा उठाएको थियो । त्यही विषयमा कुटपिट भयो । दोषीलाई कारबाही हुनुपर्छ हुनुपर्छ ’, उनले भने, ‘यस्तो गुण्डागर्दी अब चल्दैन । ’
वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडाध्यक्ष साउद पक्राउ परिसकेको डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए । ‘वडाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी आएको छ । हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ’, उनले नेपाल प्रेससँग भने ।
सामान्य विवादपछि आक्रमण
सोमबार लठुवा खोलामा तीन समूह पिकनिक खान पुगेका थिए । वडाध्यक्षसहितको एउटा समूह, सुनिल खड्काको एउटा समूह र अर्को एउटा समूह पिकनिकमा थिए ।
एकजना प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष साउदले खड्का समूहसँगै बसेर मासु र मदिरा खाएका थिए ।
‘उहाँ ९वडाध्यक्ष ० आउनु भयो । त्यहाँ राम्रै सम्मान भएको थियो । मासु र मदिरा पनि सेवन भयो ’ ती प्रत्यक्षदर्शीले भने, ‘केहीबेर राम्रै कुरा भएको थियो पछि सुनिलले प्रश्न गरेपछि वडाध्यक्षले आक्रमण गर्नुभएको हो । ’
ती प्रत्यक्षदर्शीका अनुसार तीन वर्षसम्म पनि विकास नभएको भन्दै सुनिलले वडाध्यक्षलाई प्रश्न गरेका थिए । त्यो बेला वडाध्यक्ष मौन रहे र निस्किए ।
केहीबेरपछि केही युवा लिएर वडाध्यक्ष त्यो समूहमा गएको र आक्रमण गरेको ती युवाले बताएका छन् । सुनिलको टाउकोमा ८ टाका लगाइएको छ ।
प्रतिक्रिया