तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

  आइतबार ०५, असोज २०८२ ११:०९

कैलाली । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उहाँको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उहाँ घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउनुहुन्छ । जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उहाँको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उहाँ उद्यममा जोडिन सफल हुनुभएको हो ।

पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थाल्नुभएको छ । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफैँ कपडा बनाउन थालेकी छु”, उहाँ भन्नुहुन्छ, “आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ । आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ ।”

टीकापुर नगरपालिका-८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन् । तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहनुभएको छ । “सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ । समाजले हेर्ने दृष्टिकोणमा फेरिँदोरहेछ ।” सोही ठाउँकी कमला साउदले भन्नुभयो, “हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन ।”

महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौं लगिन्छ । प्रतिमिटर तीन सयमा काठमाडौंको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ । मागअनुसार पुर्याउन नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउनुहुन्छ । “बजारमा माग निकै छ । एउटै कम्पनीलाई पनि हामीले पुर्याउन सकेका छैनौँ, उहाँ भन्नुहुन्छ, “बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ ।” उहाँले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडिबाट केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो । बजारमा रेसाको माग निकै हुँदा पुर्याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो । “रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन । उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ”, उहाँ भन्नुहुन्छ, “अहिले त आफ्नै लागि रेसा पुर्याउन सकिएको छैन ।”

महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गर्नुभएको छ । उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन् । “कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो ।” स्थानीय कमलाकुमारी चौधरी भन्नुहुन्छ, “हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ । केही रकम हामी आफैँ पनि लगानी गर्न सक्छौँ ।”

उहाँले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत सामग्री उत्पादन गर्न सकिने बताउनुभयो । स्थानीय महिलालाई सिलाइकटाइलगायत तालिममा लाखौँ खर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताउनुहुन्छ । “टीकापुर केराको नामबाट परिचित छ । त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन्”, उहाँ भन्नुहुन्छ, “लगानी आवश्यक छ । स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिनसक्यो भने रोजगारी आफैँ सृजना गर्न सकिन्छ ।” टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट (थाम)बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ । 

clock आइतबार ०५, असोज २०८२ ११:०९

प्रतिक्रिया