कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आंशिक सेवा सुचारु
कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षति ब्यहोरेको कृष्णपुर नगरपालिकाको कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। कार्यालय भवनमा क्षति पुगेपछि अहिले केही शाखामात्र अस्थायी रूपमा सञ्चालनमा आएका छन्।
नगरप्रमुख हेमराज ओझाका अनुसार आगलागी हुनबाट जोगिएका कागजातका आधारमा काम अगाडि बढाइएको छ। स्थानीय युवा क्लब र कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ गरी सुरक्षित रहेका कोठा, खाजाघर र हल प्रयोगमा ल्याइएको छ उनले भने, “भवनमा ठाउँ अपुग भएपछि वनदेवी आधारभूत विद्यालयका खाली कोठामा केही शाखा सार्ने तयारी भइरहेको छ।”
कार्यालयका सबै शाखा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने जनाउँदै उनले आवश्यक उपकरण र सामग्री अभाव ठूलो चुनौती भएको जानकारी दिए। स्टेशनरीदेखि लिएर कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचरसहित अधिकांश कागजपत्रलगायत सामग्री जलेर नष्ट भएका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टका अनुसार क्षतिको प्रारम्भिक विवरणअनुसार आगलागीले दुई करोडभन्दा बढीको क्षति पुगेको छ। भवनको भौतिक क्षतिबारे प्राविधिक विवरण तयार गर्ने कार्य भइरहेको उनको भनाइ छ। वडा कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनकै क्रममा रहेको छ।
यद्यपि, सामुदायिक वन, सहकारी संस्था र वित्तीय संस्थाले सहयोगस्वरूप प्रिन्टर, कम्प्युटर र प्लास्टिकका कुर्सी नगरपालिकालाई सहयोग गरेका छन्। नगरपालिकाले नगद सहयोग नलिने निर्णय गर्दै जिन्सी सामग्रीमात्र स्वीकार गर्ने नीति बनाएको छ। नगरप्रमुख ओझाले भने, “सहयोगी संस्थाबाट प्राप्त थोरै सामग्रीकै आधारमा कार्यालय सञ्चालन गर्न थालेका छौँ, केही दिनमै सबै शाखा सञ्चालनमा ल्याउने तयारी छ।”
आगलागी र तोडफोडमा संलग्नलाई कारबाही गर्नेबारे सर्वदलीय, सर्वपक्षीय तथा कार्यपालिकाको छुट्टाछुट्टै रूपमा बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। हालसम्म लुटपाट गरिएको सामग्रीमध्ये एक थान कम्प्युटर मोनिटर र एक थान क्यामेरामात्र फिर्ता भएको नगरपालिकाले जनाएको छ। यसैबीच, वडा कार्यालयमार्फत भने सेवाग्राहीलाई सेवा दिने कार्य सुरु गरिएको छ।
प्रतिक्रिया