कैलालीका दुई नगरपालिकामा औषधी र उपकरण जलेर नष्ट

  शुक्रबार ०३, असोज २०८२ १२:३०

धनगढी । गत भदौ २४ गतेको आन्दोलनका क्रममा कैलालीका दुई स्थानिय तहले भण्डारण गरेको औषधी जलेर नष्ट भएको छ। गोदावरी नगरपालिकाले भण्डारण गरेको औषधी तथा स्वास्थ्य उपकरण जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने घोडाघोडी नगरपालिकाको करिब आधा औषधी जलेको छ। 

गोदावरी नगरपालिकाको स्वास्थ्य शाखामा भएको आगजनीबाट करिब ९२ लाख बराबरको औषधी र ४८ लाख बराबरको स्वास्थ्य उपकरण जलेर नष्ट भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए। शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त बनेको उनले बताए।

औषधी नष्ट भएपछि दीर्घरोगी बिरामीहरू समस्यामा परेका छन्। स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गरिने औषधी उपलब्ध नभएकाले नियमित औषधी सेवन गर्ने बिरामी प्रभावित भएको अवस्थीले बताए। उनका अनुसार औषधीसँगै अस्थायी स्वास्थ्य साधनको समेत अभाव भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको औषधी भण्डारण गृहमा समेत आगजनी भएको छ। तर, घोडाघोडीको औषधी भने पूर्ण रूपमा नष्ट हुनबाट जोगिएको छ।

जिल्लाका दुई नगरपालिकामा भएको क्षतिको तत्काल समस्या समाधान गर्न स्वास्थ्य कार्यालय कैलालीले केही औषधी सहयोग गरिरहेको कार्यालय प्रमुख रमेश कुँवरले जानकारी दिए। उनले सरकारबाट केही औषधी उपलब्ध भए पनि अस्थायी साधनको भने अझै अभाव रहेको बताए। आगजनीका कारण जिल्लाका अन्य केही स्थानिय तहका कागजात समेत जलेर नष्ट भएका छन्। जसका कारण नियमित खोप कार्यक्रम तथा औषधी वितरण प्रभावित भएको छ।

clock शुक्रबार ०३, असोज २०८२ १२:३०

प्रतिक्रिया