आगजनीबाट क्षतीग्रस्त मालपोत कार्यालय कैलालीको मर्मत तथा रङ्गरोगन सुरु

  बुधबार ०१, असोज २०८२ २०:१९

धनगढी । कैलालीको भुमिसुधार तथा मालपोत कार्यालय आगजनी र तोडफोडमा परेपछि अहिले पुनः मर्मत सुरु भएको छ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयले तत्काल सेवा सुचारु गर्न सरसफाइ र मर्मतको काम अघि बढाएको हो । 

जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा मालपोत कार्यालयमा भएका कुर्सी, टेबलदेखि लिएर २५ वटा कम्प्युटर सेटसमेत जलेर नष्ट भएका छन् । आगजनीसँगै केही कम्प्युटर चोरीसमेत भएको कार्यालय प्रमुख प्रेम बहादुर दौल्यालले बताए । कार्यालयको बिधुत र इन्टरनेट सेवा ठप्प भएको उनले बताए । 

केही महत्वपुर्ण ढड्डाहरु आगजनी हुनबाट जोगिएको बताउँदै दौल्यालले केही कागजात भने पुर्ण रुपमा नस्ट भएको जानकारी दिए । कार्यालयमा ठूलो क्षति भएको छ । कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाइ र मर्मतलाई तीव्रता दिएको छ । विद्युत वायरीङ र नयाँ कम्प्युटर उपलब्ध हुनेबित्तिकै सेवा सुचारु गर्न सकिने कार्यालय प्रमुख दौल्यालको भनाइ छ । 

उनका अनुसार कार्यालयका सेवा चाँडो भन्दा चाँडो सुरु गर्ने तयारी भइरहेको छ । उनले कार्यालयबाट चोरी भएका कम्प्युटर र अन्य सामान फिर्ता गर्न पनि आग्रह गरे । आन्दोलनपछि नयाँ प्रधानमन्त्री चयनसँगै क्षतिग्रस्त कार्यालयहरु क्रमशः सञ्चालनमा आउन थालेका छन् । कैलालीमा मालपोत, नापी, यातायात सहितका कार्यालयहरूले मर्मत र सफाइ गरेर अति आवश्यक सेवा प्रवाह सुरु गर्ने तयारी गरेका छन् ।

clock बुधबार ०१, असोज २०८२ २०:१९

प्रतिक्रिया