कार्यालय जलाईएपछि पुँजीगत खर्चको भुक्तानी रोकियो

  बुधबार ०१, असोज २०८२ २०:०४

धनगढी । जेनेजी आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएपछि संघ, प्रदेश र स्थानीय तहको पुँजीगत खर्च भुक्तानी रोकीएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय र जिल्लामा रहेका संघीय कार्यालयहरुको लेखा व्यवस्थित गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीबाट हुने पुँजीगत खर्चको भुक्तनी रोकीएको छ भने स्थानीय तहहरुको पनि भुक्तानी रोकिएको छ। 

लेखा नियन्त्रक वासुदेव जोशीले प्रदेशका कार्यालयहरुका कर्मचारीलाई तलब भुक्तानी, खानेपानी, विद्युत महशुल बाहेकका सबै खर्च बन्द रहेको बताए। “हाम्रो कार्यालयमा केहि कम्प्युटर तोडफोड र गाडीमा आगजनी बाहेकको क्षति भएको छैन” उनले भने, “प्रहरीले क्षतिको मुचुल्का बनाईसके पछि कार्यालय व्यवस्थापन गरेर सेवा सुचारु गरेका छौँ तर तलब, खानेपानी तथा विद्युत महशुल भुत्तानी बाहेकको भुक्तानी हुन सकेको छैन।”

अधिकांश कार्यालयहरु जलेको हुँदा ति कार्यालयहरुले सेवा सुचारु गर्न सकेका छैनन्। ती कार्यालयहरुको सम्पूर्ण कागजातहरु जलेका छन्। कार्यालयहरुले फाईल तयार  गर्न सक्ने अवस्था भएपछि मात्रै पुँजीगत तथा अन्य खर्चहरुको भुक्तानी पनि सुचारु हुने प्रदेश लेखा नियन्त्रक जोशीले बताए। 

यसैगरी, कैलाली जिल्लामा रहेका संघीय कार्यालयहरुको पनि कर्मचारीको तलब भत्ता भुक्तानी बाहेकको काम सुरु हुन सकेको छैन। कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका सुचना अधिकारी भाष्कर कुमार माझीले सोमबारबाट सेवा सुरु गरिएको बताए। “हाम्रो कार्यालयको भूइतला सबै जलेको छ” उनले भने, “ माथिल्लो तलामा हल बाहेक सबै जलेको छ। ऋहिले यहि हलमा सबै कर्मचार िबस्ने व्यवस्था गरि सेवा सुरु गरेका छौँ। तलब लगायतका नियमित खर्चहरु भुक्तानी भईरहेको छ। पुँजीगत खर्चहरु भुक्तानी भएको छैन।”

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीबाट कैलाली जिल्लामा रहेका स्थानयि तहहरुको निकासा समेत हुन सकेको छैन। कतिपय स्थानीय तहहरुले गत आर्थिक वर्ष २०८१र८२ कै प्रतिवेदन बुझाउन बाँकी रहेकोले संघीय सरकारबाट स्थानीय तहलाई हस्तान्तरण गरिने अनुुदानको निकासा हुन नसकेको माझीले बताए।

यसैगरी, स्थानीय तहहरुले पनि सेवा सुचारु गरेपनि भुक्तानी दिन सकेका छैनन्। गेदावरी नगरपालिकाले प्रशासनिक भवन जलेको हुँदा सेवा सुचारु गर्न सकेको छैन। नगरपालिकाले सेवा सुचार गर्नको लागि सहयोग गर्न सार्वजनिक अपिल जारी गरेको छ। सोही अपील अनुसार कैलाली चेम्बरले गोदावरी नगरपालिकालाई एकथान कम्प्युटर सहयोग गरेको छ। 

clock बुधबार ०१, असोज २०८२ २०:०४

प्रतिक्रिया