सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

  बुधबार ०१, असोज २०८२ ०९:४७

डोटी ।  आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइने चलन छ ।

राक्षस पूतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व धूमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताउनुभयो ।

सुदूरपश्चिममा भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी अर्थात् राक्षस पूतनाको प्रतीक बनाइएको हुन्छ ।

त्यो प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुसीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ ।

यसै गरी बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बुढापाका बताउँछन् ।

clock बुधबार ०१, असोज २०८२ ०९:४७

प्रतिक्रिया