कञ्चनपुरका तीन स्थानीय तहमा सेवा सुचारु अनिश्चित
धनगढी । कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन् । ९ स्थानीय तह रहेका कञ्चनपुरमा तीन पालिकामा पूर्णरुपमा क्षति पुग्दा सेवा प्रवाह अनिश्चित बनेको हो ।
जेनजी समूहको आन्दोलनमा भएको घुसपैठका कारण यहाँका पुर्नवास नगपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । आन्दोलनकारीहरूले पुर्नवास नगरपालिका र कृष्णपुरमा अत्यधिक क्षति पुर्याएका छन् भने शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा पनि केही क्षति पुगेका छन् ।
पुर्नवास नगरपालिका अधिकांश वडा कार्यालयहरु र नगरपालिका कार्यालयमा आन्दोलनकारीहरूले गरेको आगजनीका कारण अत्यावश्यक कागजातहरू जलेर नष्ट भएको पालिकाका सूचना अधिकारी धौल शार्कीले बताए । आन्दोलनकारीले गरेको आगजनीका कारण पालिकाका सबै शाखा जलेर नष्ट भएका छन्,’’ उनले भने , ‘‘सफाइ गर्न झण्डै दुई साता जति लाग्न सक्छ ।”
पालिकामा सफाइ सुरु गरिएको सूचना अधिकारी शार्कीले बताए । जेनजी आन्दोलनका क्रममा पालिकामा अत्यधिक लुटपाट समेत भएको बताइएको छ । सूचना अधिकारी शार्कीका अनुसार, पालिकामा बचेका कम्प्युटर, ल्यापटप, कुर्सी, लगायतका सामग्री चोरी भएका छन् । केही चोरी भएका सामग्री भने फिर्ता ल्याउने कार्य भइरहेको उहाँले बताए ।
यसैगरी, आन्दोलनकारीहरूले कृष्णपुर नगरपालिकामा पूर्णरुपमा क्षति पुर्याउँदा पालिका सञ्चालनमा आउन सकेको छैन । आन्दोलनकारीहरूले नगरप्रमुख हेमराज ओझाको कार्यकक्ष, योजना शाखा, भूमि इकाई, स्वास्थ्य शाखा र शिक्षा शाखा आगजनी गर्दा कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताए ।
आन्दोनलकारीहरुको समूहले शुक्लाफाँटा नगरपालिकामा केही क्षति पुर्याएका छन्, भने पालिकास्थित वडा नम्बर १,७ र ९ वडा कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी मोहन फुलाराले बताए । पालिकास्थित तीन वडा कार्यालयमा पूर्णरुपमा क्षति पुगेको बताउनुहुँदै सूचना अधिकारी फुलाराले क्षतिको विवरण सङ्कनको काम भइरहेकाले आगामी आइतबारपछि नगरपालिकाले कामकाज सुरु गर्ने गरी तयारी अगाडि बढाइएको बताए ।
प्रतिक्रिया