कैलालीका केही सरकारी कार्यालयद्वारा सेवा प्रबाहको प्रयास, कतै महिनादिनसम्म लाग्ने
धनगढी । कैलालीमा भग्नावशेष सरकारी कार्यालयबाटै कतै सेवा प्रवाहको प्रयास भएको छ भने कतै सेवा सुचारु गर्न महिनौं लाग्ने भएको छ । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीका अधिकांश सरकारी संरचना ध्वस्त पारिएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार क्षतिको एकिन विवरण संकलनको कार्य भइरहेको बताउँदै प्रारम्भिक रुपमा एक सय २० वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ। त्यसबाहेक १५,२० वटा निजी घरमा पनि आगजनी भएको छ, उनले भने, साढे पाँच सय मोटरसाइकल र सय बढी चार पाङग्रे सरकारी सवारी साधन पनि जलाइएको छ ।
२४ गतको आगजनीमा भन्सार कार्यालयको भवनसंगै सवारी साधन, उपकरण, फर्निचर र कागजात जलेको अर्यालले बताए । अर्यालका अनुसार लिलामीको प्रक्रियामा रहेका दुई सय बढी मोटरसाइकल पनि आगजनीमा नष्ट पारिएको छ । भन्सार कार्यालयले ती सवारी साधन लिलामीका लागि २४ गते नै बोलपत्र आह्वानको तयारी गरेको थियो । भन्सार कार्यालयसहित फर्निचर, कम्प्युटर, कागजपत्र जलेपछि ग्यारेजबाट बैँकको काउन्टर, आयात–निर्यातको स्वीकृति लयातको काम सुरु भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खेम प्रसाद अर्यालले प्रशासन भवन, कर्मचारी निवास, सवारी साधन, फाइलहरू, तथ्याङ्क लगायत नष्ट भएकोले हाल भएको श्रोत साधानको प्रयोग गरेर कामलाई सुचारु गरेको बताए । आइतवारदेखि अन्य अति आवश्यक बस्तुको आयात तथा निर्यातको काम भन्सार कार्यालयले थालेको हो ।
उता भूमिसुधार तथा मालपोत कार्यालय भने दसैंअधि सेवा सुचारु गर्नसक्ने अवस्थामा छैन। दर्ता र चलानीका कागजात जलाएर नष्ट पारिएको छ, भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले भने, तार जलाएर विद्युत सेवा पूर्ण रुपमा बन्द छ। कम्प्युटर र प्रिन्टर चोरी गरिएको छ। दसैंअघि सेवा सुचारु गर्न सकिने अवस्थामा छैन। कार्यालयका प्रमुख दौल्यालका अनुसार आइतबारदेखि सरसफाइको काम सुरु गरिएको छ। कैलाली जिल्ला अदालतले आइतबारबाट पुनः सेवा सञ्चालन गरेको छ । अदालतका अनुसार बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता, म्याद थप, जरुरी प्रकृतिका पुर्जीको स्वीकृति तथा पत्राचार अनुमति सम्बन्धी कार्यहरू सुचारु भएका छन् । अन्य नियमित कामकाज, मुद्दा दर्ता, नियमित तारिखका मुद्दा सुन्ने तथा अन्य कार्यहरू हाललाई स्थगित रहेको अदालतका श्रेस्तेदार चेतराज पन्तले बताए ।
यस्तै यातायात व्यवस्था कार्यालय कैलालीले भने आगजनीका कारण क्षति पुगेको भन्दै २४ भदौदेखि अर्को सूचना जारी नभएसम्म सेवा प्रवाह र प्रयोगात्मक परीक्षाका कार्यक्रम स्थगित गरिएको जनाएको छ । कार्यालयका अधिकृत चक्रप्रसाद उपाध्यायले क्षतिको मुचुल्का संकलनका लागि आज मात्रै प्रहरी पुगेको बताउँदै सेवा सुचारु गर्न केही दिन लाग्ने जानकारी दिए । सवारी साधनका कागजात जलेर नष्ट पारिएको छ, उनले भने, विभागको निर्देशनअनुसार अगाडि बढ्छौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेशका मन्त्रालय, संघीय सरकार मातहतका कार्यालय र केही वडा कार्यालयमा आगजनी गरिएको थियो। नेपाल टेलिकम, विद्युत प्राधिकरण, स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका, जिल्ला प्रहरी र मातहतका कार्यालय भने सुरक्षित छन् ।
प्रतिक्रिया