अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै

  शनिबार २८, भदौ २०८२ १०:३१

अछाम । सम्भावित हुलदंगा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, अछामले जिल्लाभार लागू हुने गरेर अनिश्चिकालीन कर्फ्यु  र निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले बेलुकी ७ बजेबाट पछिल्लो बिहान ६ बजेसम्म आवतजावतमा पूर्ण प्रतिबन्ध हुने गरेर कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय, अछामले जनाएको छ ।

अवाञ्छित गतिविधि नियन्त्रका लागि प्रत्येक दिन बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर बैठक, अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा, सम्मेलन गर्न÷गराउन निषेध गरिएको छ । अत्यावश्यक सेवाका लागि मानिसहरुले बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुद्वारा जारी सूचनामा उल्लेख छ ।  

दशवटै स्थानीय तहका केन्द्र र वडाको दुई किलोमिटर, बजारमा मुख्य बजार क्षेत्र र सरकारी कार्यालयको पाँच किलोमिटर र मंगलसेनसहित मुख्य र सहायक बजार क्षेत्रमा निषेधज्ञा जारी गरिएको हो । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको जारी सूचनामा उल्लेख गरिएको छ । 

निषेधित क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा सुरक्षाकर्मीले सोधपुछ, चेकजाँच गरी निषेधाज्ञा पालना गराउने र कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । अछाम जिल्लाका विभिन्न बजार क्षेत्र र नाकाहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । नेपाली सेनाले बजार क्षेत्रमा माइकिङ गरेर अनावश्यक हिडडुल, भेला, कार्यक्रम नगर्न भनिएको छ ।

clock शनिबार २८, भदौ २०८२ १०:३१

प्रतिक्रिया