सन्तान वरदान दिने देवता गन्याप
डडेलधुरा । प्रत्येक वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाका दिन धुमधामसँग पूजाआजाका साथ मनाइने लाटा गन्यापधुरा मेलाले निःसन्तानलाई सन्तान वरदान हुने जनविश्वास रहिआएको छ । गन्यापधुरा गाउँपालिकाको मुकाम बडालबाट करिब दुई घण्टाको पैदल दुरीमा पुगिने गन्यापधुरा देवस्थलको मेलाको समयमा गन्याप मन्दिरमा पुगेर पूजाआजा गर्नाले मनोकामना पूरा हुने गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।
गन्याप देवतालाई बलि नचढ्ने भएकाले एक पवित्र धार्मिक स्थलका रूपमा चिनिन्छ । उहाँले भन्नुभयो, “दुधधारी देवता हुन् । गन्यापलाई शिवजीका रूपमा लिइन्छ । उहाँको यस पवित्र देवभूमिमा पुगी पूजाआजा गर्नाले सबै दुःखकष्ट नाश हुने र चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।”
पहिलेदेखि नै यो क्षेत्रलाई कान्छो खप्तड भनेर चिनिन्छ । गन्याप मन्दिरको निर्माण कहिले भएको हो भन्ने प्रमाण छैन तर किंवदन्ती अनुसार रुमाइल गाउँमा भगवान् गणेशको जन्म भएको र पछि गणेश ठुलो भएपछि त्यस क्षेत्रबाट सर्पको भेषमा हाल गन्याप मन्दिर भएको ठाउँ शिखरमा गई विलीन भएको बताइन्छ ।
शिखरमा भएको विशाल शिलाको चारैतिर अहिले पनि सर्पको आकृति देख्न सकिन्छ । गन्यापधुरा गाउँपालिकाको रेल भन्ने गाउँका एक जना पार्की जातका स्थानीय निगालो काट्न जाँदा त्यहाँ रहेको ढुङ्गामा हँसिया रगड्दै आरन लगाउँदा ढुङ्गोबाट लगातार रगत बगेको र त्यहीँ भगवान् उत्पत्ति भएको किंवदन्ती छ ।
ढुङ्गोबाट लगातार रगत बगेपछि ती पार्कीले गाउँ गएर आफन्तलाई बोलाए । त्यहाँ गएर एक जना स्थानीयले त्यस ढुङ्गोमा फूल चढाए । ती पार्कीले आफूले लगाएको टोपीले ढुङ्गाबाट बगिरहेको रगत रोके । रेल र रुमाइलगाउँका सबै भेला भएर त्यो ठाउँमा त्यस दिनदेखि पूजापाठ सुरु गरेको किंवदन्ती छ । डडेलधुरा मात्रै नभई डोटीको घन्टेश्वरदेखि लोखाडीगाडसम्मका बासिन्दाले समेत आराध्य देवताका रूपमा पूजाअर्चना गर्ने गन्याप मन्दिर महाभारत पर्वत शृङ्खलाको अति रमणीय स्थलमा रहेको छ । गन्यापको पूजा गर्नका लागि रेलका पुजारी, रुमाइल र मालीगाउँबाट धामी अहिले पनि आउने गरेका वडा नं. ४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिनुभयो ।
यो परम्परा अहिले नभएर पुर्खौंदेखि चल्दै आइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यो मन्दिरमा पूजापाठ गर्न त्यहाँका देउवा र बाह्विसी बलायरहरूको आफ्नै महत्व छ । डोटीको बानडुग्रीसैनका कुनै पनि बलायरको छोरा थिएनन् । त्यहाँ गएर पूजापाठ गर्दा सन्तान भएको इतिहास छ । गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने आस्थासहित अहिले पनि पूजापाठ गर्न दैनिक थुप्रै आस्थावान् श्रद्धालु भक्तजन हिँडेर त्यहाँ पुग्ने गरेका छन् ।
प्रतिक्रिया