दार्चुलामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै
दार्चुला । दार्चुलामा लगातार तीन दिनदेखि जारी निषेधाज्ञालाई आज केही खुकुलो बनाइएको छ । भदौ २४ गते राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी जनाएको छ ।
यहाँको सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी गरिएको निषेधाज्ञा आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले खुकुलोे बनाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
निषेधाज्ञा खुकुलो गरिएको सूचनाअनुसार विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म व्यावसायीहरुले आफ्नो पसल, व्यवसाय, दैनिक कामकाज सञ्चालन गर्न पाउने उनले बताए । निषेधाज्ञा खुकुलो भएसँगै सदरमुकाम लगायतका स्थानको जनजीवन सामान्य बन्दै गएको अनुभुति भएको छ ।
साथै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पाँचजना वा सोभन्दा बढी व्यक्ति–समूह मिली सार्वजनिक स्थानमा हिड्डुल गर्न र जमघट गर्न नपाइनेगरी निषेधाज्ञा जारी राख्ने निर्णय भएको उनले बताए । तोकिएको समयमा पनि अनावश्यक भिडभाड र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
प्रतिक्रिया