पूर्वप्रधानमन्त्री देउवाको गाउँकै सडक भएन कालोपत्रे
डडेलधुरा । गन्यापधुरा गाउँपालिकावासीले पाँच पटक प्रधानमन्त्री हुनुभएका कांग्रेसका सभापति शेरबहादुर देउवाको पालिका पुग्ने सडक कहिले कालोपत्रे हुने भनी स्थानीयले प्रश्न गरेका छन् । शुक्रबार गन्यापधुरा गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा पूरा गरेका योजना तथा बजेटको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी धर्मराज भट्टले यस्तो प्रश्न गर्दै जवाफ माग गर्नुभएको थियो ।
उहाँलगायत अधिकांश सहभागीले सडक कालोपत्रे र मर्मतसम्भार हुन नसकेको गुनासो गर्नुभएको थियो । गन्यापधुरा गाउँपालिका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको समेत पालिका भएकाले स्थानीयले यस्तो प्रश्न गर्नुभएको हो । सडक कालोपत्रे हुन नसक्दा स्थानीयले चर्को भाडादरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँहरूले गुनासो गर्नुभयो ।
पालिकाको मुकाम गणेशपुर पुग्न सबैभन्दा पुरानो सडक वडा नम्बर १ भातकाडा बजारबाट रुवाखोला मटेलागाउँ हुँदै बडाल–रेल–सडक, जिल्ला सदरमुकामको स्याउलेबाट राई–डोला–मनाना–कोरगाउ–बडाल सडक, रडुवा–पारिखेत–बडाल सडक, रडुवा–चम्साल–बडाल सडक र पूर्वतर्फ सकायल, कोरालखोलाबाट अन्य तीन वटा सडक निर्माण गरिएका छन् तर गाउँपालिका मुकामसम्म पुग्ने एउटा सडक पनि कालोपत्रे भइसकेको छैन ।
जवाफमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले सडक कालोपत्रेको माग सबै पालिकावासीको रहेको उल्लेख गर्नुहुँदै भातकाडा–रुवाखोला–रेल सडक कालोपत्रेको काम भइरहेको र चालु आव २०८२/८३ मा नौ करोड रकम विनियोजन भएर थप काम हुने जानकारी दिनुभयो । सडक विभागले ठेक्का लगाएको यस सडकमा ठेकेदारले काम नगरिदिँदा पालिकावासी सबैले सास्ती खेप्नु परेको उहाँको भनाइ थियो ।
यस्तै रडुवा–बडाल र कैलपालमाण्डौ–बडाल सकडमा यस वर्ष तीनरतीन करोड रकम प्राप्त भएको र विस्तारको काम हुने उहाँले बताउनुभयो । उहाँका अनुसार सडक डिभिजन कार्यालय डोटीले भातकाडा–बडाल–रेल सडकको साढे चार किलोमिटर सडकखण्ड कालोपत्रे गर्न आव २०७८/७९ मा ठेक्का सम्झौता गरेको थियो तर निर्माण व्यवसायीले समयमै काम पूरा नगरिदिँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।
अनक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भए पनि हालसम्म काम पूरा नभएको जानकारी गाउँपालिका अध्यक्ष कार्कीले दिनुभयो । सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार २६ महिनाभित्र काम गर्ने गरेर सम्झौता भए पनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन ।
प्रतिक्रिया