कैलाली कारागार झडप : घाइते १४ कैदीबन्दीको स्थानान्तरण, बाँकी अस्पतालमै
धनगढी । कैलाली कारागारमा हिंसात्मक झडप भएको दुई साताभन्दा बढी भइसक्दा पनि घाइते कैदीबन्दीको व्यवस्थापन सकिएको छैन । अस्पतालले उपचारपछि डिस्चार्ज गरेका बन्दीलाई पनि सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ साउनको झडपमा घाइते भएका ४७ जना र अघिल्लो दिन घाइते भएका एक गरी ४८ जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । ‘४८ कैदबन्दीमध्ये दुई जनाबाहेक सबैलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ,’ सूचना अधिकारी जोशीले भने, ‘अहिलेसम्म १४ जनाको मात्रै स्थानान्तरण गरिएको छ । बाँकी डिस्चार्ज भएका ३२ र उपचाररत दुई जनालाई अस्पतालमै राखिएको छ ।’
घाइते कैदीबन्दीमध्ये चार जनालाई जिल्ला डडेल्धुरा कारागार, तीन जनालाई जिल्ला कारागार डोटी, तीन जनालाई कञ्चनपुर र एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको जोशीले बताए । तीन जना कैदीबन्दीलाई उपचारका लागि काठमाडौं लगिएकोमा उनीहरूलाई अस्पतालले डिस्चार्ज गरेपछि उतैको कारागारमा सरुवा गरिएको छ । डिस्चार्ज भएका कैदीबन्दीको खानाको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ । कैदीबन्दी राखिएको कोरोना अस्पतालमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ । कैलाली कारागारका अनुसार स्थानान्तरणका लागि कैदीबन्दीबाट निवेदन माग गरिएको छ भने कारागार व्यवस्था विभागको अनुमतिमा स्थानान्तरणको कार्य भइरहेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय र कारागार प्रशासनले घाइते कैदीबन्दीको इच्छाअनुसार नै कैदीबन्दीको सरुवा हुने बताएको थियो । तर, २३ साउनको घटनामा घाइते भएका केही कैदीबन्दीले आफूहरूको नभई झडपका दोषीको सरुवा हुनुपर्ने माग राख्दै आएका छन् । कैलाली कारागार पछिल्लो समय असुरक्षित बन्दै गएको गुनासो बढेको छ । २३ साउनमा भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका– ४ का कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानका लागि गठित समितिले उच्चस्तरीय छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
त्यसअघि २ असारमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका कैदीबन्दी हरिसिंह पालीको मृत्यु भएको थियो । उक्त घटनाका लागि पनि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले मृतकको शरीरमा चोटपटक देखिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । सोमबार कैलाली कारागारका थप एक कैदीबन्दीको मृत्यु भएको छ । टीकापुर नगरपालिका– ४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको २० मिनेटमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको डीएसपी सिंहले बताए । चौधरीलाई २९ साउनमा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
प्रतिक्रिया