कैलाली कारागार कैदीहरुको कब्जामा, जान सकेनन् सिडिओसहितका सुरक्षा अधिकारी
धनगढी । शुक्रबार राति कैदीबन्दीबीच भएको हिंसात्मक झडपपछि कैलाली कारागारको अवस्था तनावग्रस्त छ । हिंसात्मक झडपमा परी ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते छन् ।
अहिले कारागारभित्र प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीलाई कैदीबन्दीले कारागारभित्र प्रवेश गर्न दिएका छैनन् । झडपपछिको अवस्थामा बुझ्न खोज्दा पनि कैदीबन्दीले प्रमुख जिल्ला अधिकारी गोगन हमाल, कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणा लगायतका सुरक्षा अधिकारीलाई भित्र प्रवेश गर्न नदिएको बताइएको छ ।
कैलाली कारागारका खरिदार रामप्रसाद चौधरीले भने, ‘सिडिओ जेलभित्र जान खोज्दा पनि जान नसक्ने अवस्था छ । कैदीबन्दीहरु गेटमा सिलिन्डर राखेर पडकाउँछौ भनेर धम्की दिइरहेका छन् ।’
अनुसन्धानका लागि छानबिन समिति गठन
हिसांत्मक झडप घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेका छन् । समितिलाई घटनाको छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रतिक्रिया