कैलाली कारागारको झडपमा परी धनगढीका भरत चौधरीको मृत्यु
धनगढी । कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको हो ।
कुटपिटबाट गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्य ४६ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरी लागूऔषध मुद्दामा कैद भुक्तान गरीरहेका थिए।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ ।
झडपको भित्री कारण खुलेको छैन । तर कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ । घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ ।
अस्पताल र कारागार परिसरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया