सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक हमालको निधन
धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन भएको छ । भारतमा उपचारको क्रममा बुधबार उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । हमालको दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेको थियो ।
उनको निधनसंगै सुदूरपश्चिम खेलकुद क्षेत्रले अभिभावक गुमाएको महसुस भएको छ । खेलकुदमा व्यवसायिकता र भविश्य खोजिरहेका युवाहरुका लागि हमाल आशाको केन्द्र थिए । हमालले सुदूरपश्चिम स्पोट्स क्लव मार्फत खेलाडीहरुलाई अवसर दिएका थिए ।
उनले वर्षैभरी खेलाडीलाई आफ्नै घरमा राखेर खाने, बस्ने र व्यवसायिक तालिमको व्यवस्था मिलाउने गर्थे । हमालले ‘खप्तड गोल्डकप’ को अवधारणा ल्याए र त्यसलाई छैटौं संस्करणसम्म सफलतापूर्वक आयोजना गर्न सफल भएका थिए ।
कलेजमा पढ्नका लागि धनगढी आएपछि उनले सुदूरपश्चिमको खेलकुदलाई आफ्नै कर्मक्षेत्र बनाए । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ मा जन्मिएका हमाल धनगढीमा बसोबास गर्दै आएका थिए । उनको एक छोरा र एक छोरी छन् । हमाल ४८ वर्षका थिए ।
प्रतिक्रिया