कैलालीको भजनीका स्थानीय द्धारा जनश्रमदानमार्फत जैविक तटबन्ध गर्दै स्थानीय
कैलाली । बर्सेनि बाढी र डुबानका कारण आक्रान्त बन्दै आएका कैलालीको भजनीका स्थानीयले कान्द्रा नदीमा एक किलोमिटर जैविक तटबन्धको काम गरेका छन्। बर्सेनि आउने कान्द्रा नदीको बाढीले बस्ती विस्थापित हुँदै गएपछि भजनी नगरपालिका–४ झलझलियामा स्थानीयको जनश्रमदानमार्फत जैविक तटबन्ध निर्माण गरिएको हो।
दुई हप्तासम्म दैनिक तीन–चार सय स्थानीयको सहभागितामा नदी नियन्त्रणको काम भएपछि यतिबेला सो क्षेत्रका नागरिक यस वर्ष विगतजस्तो बाढीले क्षति नगर्नेमा विश्वस्त छन्। 'कान्द्रा नदी भजनीका लागि ठूलो दुःख हो। बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन बगर बनाउँछ। कयौँ परिवार विस्थापित हुन्छन्', स्थानीय टेकबहादुर रावलले भने। जैविक तटबन्धले केही हदसम्म नदी नियन्त्रण गर्ने उनको भनाइ थियो। विसं २०६५ असोज ४ गते आएको कान्द्रा नदीको बढीले झलझलिया क्षेत्रका तीन सय ५० परिवार विस्थापित भएका थिए।
त्यसबेला ३५ घर बाढीले बगाएको थियो भने स्थानीय धनपती जैशीले बाढीमा परी ज्यान गुमाउनुपरेको थियो। त्यसपछिका वर्ष कठिन बन्दै गएको स्थानीय बताउँछन्। सो क्षेत्रमा मात्र कान्द्रा नदीका कारण बर्सेनि ५०–६० बिघा खेतीयोग्य जमिन बगर बन्दै गएको छ। दर्जनौँ परिवार त्यहाँबाट स्थानान्तरण भइसकेका छन्। अर्को ठाउँ विकल्प नभएका स्थानीय सङ्घर्षको जीवनयापन गर्न बाध्य रहेको बताइन्छ।
नदी नियन्त्रणमा भजनीका स्थानीयले जनश्रमदान गर्दै आएका छन्। जिल्लाकै बाढी र डुबानको उच्च जोखिममा रहेको भजनीका सर्प धामी पटकपटक नदी नियन्त्रण गर्न तटबन्धको विषय उठ्ने गरेको बताउछन्। 'बजेट अहिले पनि आउँछ। सङ्घ र प्रदेशले टुक्रे बजेट विनियोजन गरेर कार्यान्वयन हुँदै आएको छ', उनी भन्छन्, 'त्यो तटबन्ध प्रभावकारी बन्न सकेको छैन। टुक्राटुक्रामा बनेको तटबन्ध एक वर्ष पनि टिक्दैन।'
कतैबाट सुनुवाइ नभएपछि स्थानीय स्वःस्फुर्त रूपमा नदी नियन्त्रणमा लागेको झलझलिया गाउँका भलमन्सा भरत चौलागाईँले बताए। उनका अनुसार टोल विकास संस्थाको समन्वयमा तटबन्धको काम भइरहेको छ। 'गाउँमा रहेका पाँचवटा टोल विकास संस्थाको समन्वयमा प्रतिघर एक सय सङ्कलन गरेर जैविक तटबन्धको काम सुरु गरेका थियौँ', उनी भन्छन्, 'अन्य सामाजिक सङ्घसंस्था, कतिपयको व्यक्तिगत आर्थिक सहयोगले दुई हप्ता काम गर्न सकेका छौँ।'
जैविक तटबन्ध निर्माणका लागि भजनी नगरपालिकाको सिफारिसमा १० हजार कट्ठा सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय धनगढीले सहयोग गरेको थियो। कतिपयले आर्थिक सहयोग पनि गरेका छन्। सुरुआतमा काम गर्न चुनौती भए पनि पछिल्ला दिनमा भएको सहयोगले स्थानीय जनश्रमदानमा जोडिएका थिए।
भजनी नगरपालिकालाई चारैतिरबाट नदीले घेरेको छ। भजनी क्षेत्र भएर कान्द्रा, काँढा, पथरैया र मोहना नदी बग्ने गर्छन्। चारै नदीले भजनीलाई बर्सेनि दुःख दिँदै आएको छ। पथरैया नदीमा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले केही भाग तटबन्ध गरेको छ। तटबन्धको योजना माग्दामाग्दै थाकिएको नगरप्रमुख केवल चौधरी बताउछन्। “कैयौँपटक तटबन्धको योजना लिएर प्रदेश र सङ्घका मन्त्रालय पुगियो तर, काम कहिल्यै भएन', उनी भन्छन्, 'हाम्रो स्रोतले भ्याउने स्थिति छैन।'
प्रतिक्रिया