धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग, पोसाक र सामग्रीसमेत हस्तान्तरण

  सोमबार ३०, असार २०८२ १७:००

धनगढी । धनगढी उपमहानगरपालिकाले तीन वर्षको अवधिमा दृष्टि फाउन्डेसन नेपाललाई पाँच लाखका दरले जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रकम भुक्तानी गरेको हो। 

२०७९ सालको असार २५ गते गोश्वरा भौचर नम्बर २५५६ भरेर चेक नम्बर ७५५४४७३२ का माध्यमबाट उक्त रकम नविल बैंकको १८११००१७५०६०२५ नम्बर खातामा जम्मा गरिएको उपमहानगरले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पनि पाँच लाख रुपैयाँ फाउन्डेसनलाई दिइएको छ। उपमहानगरले २०७९ जेठ २ गते गोश्वरा भौचर नम्बर १५४६ भरेर चेक नम्बर ८७७७०१८०१०००६१३४ मार्फत रकम भुक्तानी गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा समेत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको छ। २०८२ जेठ १५ गते गोश्वरा भौचर नम्बर ११८० र चेक नम्बर ८७७७०१८१८२००१४३२० मार्फत रकम जम्मा गरिएको हो।

त्यसैगरी, नगर प्रमुखको व्यक्तिगत सुविधाबाट समेत दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। नगर प्रमुखको सचिवालयका अनुसार, २०७९ सालको दसैंमा दृष्टि फाउन्डेसनमा आश्रित ५५ जनालाई कम्तिमा एक जोर न्यानो लुगा (पोसाक) सहयोग गरिएको थियो।

यस्तै, २०८१ मा आयोजित सिप तथा रोजगार मेलाबाट तयार भएका गाउन, लेहङ्गा र चोरीसहितको एक बोरा पोसाक पनि फाउन्डेसनलाई हस्तान्तरण गरिएको उपमहानगरले जनाएको छ।

त्यसैगरी, बेतको बुक केस चार थान, कोट हेङ्गर दुई थान, बेतको मुडा आठ थान र फूलदानी चार थान पनि फाउन्डेसनलाई प्रदान गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ।

clock सोमबार ३०, असार २०८२ १७:००

प्रतिक्रिया