डोटीको दिपायल सिलगढीमा फोहोर व्यवस्थापनको चुनौती बढ्दै
मोहन पनेरु / डोटी । सरोकारवाला निकायबीचको समन्वय अभावले पुरानो क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
फोहोर मैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरलाई मोहोर बनाउन उत्प्रेरित गरेपनि कार्यान्वयनमा समस्या हुँदा यहाँ फोहोरलाई नदी किनारमा थुपार्ने गरिएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्रको रूपमासमेत रहेको पिपल्ला बजार, राजपुर बजार र एयरपोर्ट बजारबाट संकलन भएको फोहोर सेती नदी किनारमा थुपारेर राख्ने गरिएको हो ।
फोहोर थुपारेको दायाँतर्फ घोल्तडा र बायाँतर्फ पिपल्ला गाउँ छ । फोहोर थुपारेकै करिब ५० मिटर तलपट्टि बजारबाट गाउँ जाने झुलुङ्गे पुल छ । तर गाउँ होस् या पुलमा आवतजावत गर्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको पिपल्लाका बासिन्दा सन्तोष खड्काले बताए । ‘नदीको किनारमा प्रायः हिँड्न सक्ने अवस्था हुँदैन । पटकपटक अनुरोध गर्दा पनि नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दिगो योजना ल्याउन सकेको छैन,’ उनले भने ।
दिपायल सिलगढी नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्नुमा आफू मात्र जिम्मेवार नरहेको भनेर पन्छिँदै आएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकारले फोहोर व्यवस्थापनका लागि एक ठाउँमा जग्गा हेरेर डिपीआर नै तयार पारिसके पनि ठाउँ अहिले नै खुलाउन नमिल्ने बताए । ‘यसमा एक्लै पालिकाले चाहेर पनि केही हुँदैन । हामी प्रदेश र संघीय सरकारलाई पनि गुहारिरहेका छौँ हेरौँ के हुन्छ,’ उनले भने । नगरपालिकाले डम्पिङ साइट निर्माण गर्नका लागि जग्गा हेरे पनि पालिकासँग तत्काल निर्माण गर्न बजेट अभाव पनि रहेको उनले बताए ।
गत साता फोहोर फाल्ने गरिएको नदी किनार नजिकका बासिन्दाले अन्यत्रबाट ल्याएर फोहोर फालेको भन्दै अवरोध गरेपछि बजारबाट उठाएको फोहोर केही समय गाडीमै थन्किएको थियो । ‘सबैले आफ्नो गाउँ, ठाउँ स्वच्छ, सफा भनेर चिनाउँछन् । हाम्रो त फोहोर फाल्ने गाउँ भनेर चिन्न थाल्यो । त्यसैले सडकमा ढुङ्गाले छेकेर अवरोध गरेका हौँ,’ एक स्थानीयले भने ।
दिपायल सिलगढी नगर प्रमुख बाजीसिंह खड्काका अनुसार व्यवस्थित तरिकाले खाल्डो खनेर असोजरकात्तिकसम्म अहिले फाल्ने गरिएकै ठाउँ फोहोर राख्ने सहमति भएको र पछि नयाँ ठाउँमा डम्पिङ साइट निर्माण गरिने बताए ।
अहिले दैनिक रूपमा डोटीको मुख्य व्यापारिक केन्द्र मानिएको मानिएको पिपल्ला बजार, राजपुर बजारबाट दैनिक जसो ३ ट्याक्टर फोहोर उठ्ने गर्दछ ।
करिब ५ वर्षजति नदी किनारमा ठाउँमा फोहोर फाल्दै आइरहेको छ । योभन्दा अगाडि दिपायल सिलगढी नगरपालिकाकै वडा–५ स्थित चिसापानीको फोहोर फाल्ने गरिन्थ्यो ।
कात्तिकसम्म खानेपानी तथा सरसफाइ कार्यालय डम्पिङ साइट निर्माण गरिसक्ने नगर प्रमुख खड्का दाबी गर्छन् ।
प्रतिक्रिया