१५ औं राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
धनगढी । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा धनगढी रंगशालामा एक विशेष कार्यक्रमका बीच खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा असार ७ गते (आज) ४ बर्षे कार्यकाल समाप्त हुँदै गरेका जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीलाई औपचारिक रूपमा विदाईसमेत गरियो।
कार्यक्रममा कैलाली जिल्लाबाट राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगितामा पदक दिलाउने खेलाडीहरू विशेष रूपमा सम्मानित भएका हुन्। सम्मानित हुनेमा उसु, कबड्डी, एथलेटिक्स, भलिबल, कराँते र तेक्वान्दोका खेलाडीहरू रहेका छन्।
यसैगरी, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कविता कुँवरलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। साथै उक्त कार्यक्रममा टिम व्यवस्थापकहरू र विभिन्न खेलका प्रशिक्षकहरूलाई पनि सम्मान गरियो।
कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख आश्रम केसीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा निवर्तमान अध्यक्ष ललित खत्री रहेका थिए। कार्यक्रममा जिल्ला स्तरीय सम्पूर्ण खेल संघका पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कैलाली जिल्ला खेलकुद समितिले जिल्लामा खेलकुदको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई कदर गर्दै खेलकुद क्षेत्रमा थप प्रेरित गर्न सम्मानित गरेको थियो ।
खेलकुद समितिले खेलाडीहरुलाई नगद समेत उपलब्ध गराउने बताइएको छ। स्वर्ण पदक दिलाउने खेलाडीलाई तीन हजार, रजत दुई हजार र कास्य पदक दिलाउने खेलाडीलाई नगद एक हजार प्रदान गर्ने समेत बताएका छन्।
यस्तै आफ्नो विदाई तथा खेलाडीको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले खेलाडीहरूले खेल सँगसँगै राजनीति समेत बुझ्न आवश्यक रहेको बताए । खेलाडीको लागि सुदूरपश्चिममा हुन पर्ने पहल जति नभएकोमा चिन्ता व्यक्त गरे । मेरो कार्यकालमा ६ जना मन्त्री भए कसैले पनि खेल र खेलाडीको लागि चासोको नदेखाएको आरोप लगाए ।
आफु अध्यक्ष नरहे पनि सदैव खेल र खेलाडीको लागि अग्रसर रहने प्रतिवद्धता गरेका छन्।
को को खेलाडीहरु सम्मानित भए ?
प्रतिक्रिया