कैलालीमा भन्सार छलेर ल्याइएको साढे २५ लाखको सामान बरामद

  बिहिबार ०१, जेठ २०८२ ०७:३४

धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको साढे २५ लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।

भारतबाट भन्सार छलि गरी ल्याइएको २५ लाख ५४ हजार चार सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ साढे ७ बजेतिर जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–९, कोईलही ताल क्षेत्रबाट ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएका सामग्रीमा चार सय पिस सुट, एक हजार ५१७ टप्स, ११२ वटा धोती, १० वटा पूजाको धोती, २० रोल थान कपडा, १० वटा सारी, पाँच वटा टावेल, एक रोल ब्लाउजको अस्तर लगायतका सामान रहेका छन् ।

प्रहरीले सबै सामानलाई त्रिनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ । प्रहरीका अनुसार भन्सार छलि गरी भारतबाट कपडा र लत्ताकपडा जन्य सामान नेपाल भित्र्याउने गतिविधि तीव्र रूपमा बढ्दै गइरहेको हुँदा, त्यसविरुद्ध विशेष निगरानी र अभियान जारी राखिएको छ।

clock बिहिबार ०१, जेठ २०८२ ०७:३४

प्रतिक्रिया