बैतडीका गणेशको टाउको भित्तामा ठोकेर हत्या गरेको भन्दै किटानी दर्ता
धनगढी । बैतडीका गणेश महराको हत्या गरिएको भन्दै प्रहरीमा किटानी दर्ता भएको छ। जिल्लाको पाटन नगरपालिका–८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक महराको हत्या गरिएको भन्दै उनका छोराले किटानी दर्ता गरेका हुन्। मृतक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन्।
नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ। अर्का स्थानीय दान सिंह महरा र कमल सिंह महरालाई पनि झिकाएर अनुसन्धान गरिनुपर्ने जाहेरीमा उल्लेख छ।
यही वैशाख २ गते घर नजिकै सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि वैशाख १३ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा अस्पतालले अक्सिजनसहित सोमवार उनलाई घर पठाएको थियो। उनको मङ्गलवार मृत्यु भएको हो।
घटना संकास्पद रहेको भन्दै शवको पोष्ट माटम गरी अनुसन्धान गरिनुपर्ने आफन्तले माग गरेका छन्। उनको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
प्रतिक्रिया