अत्तरियामा नाला सफा गरेपनि जमेको पानी बगेन

  बुधबार ३१, बैशाख २०८२ ०८:१२

अत्तरिया । कैलालीको अत्तरिया बजारमा फोहर भरिएर पानी जमेका नाला सफा गर्न थालिएको छ । लामो समय देखि सफा नगरिँदा दुर्गन्धित बनेका नाला गोदावरी नगरपालिकाले सरसफाइ गर्न सुरु गरेको हो । नगरपालिकाले सोमबार देखि नाला सफाइको काम सुरु गरेकोमा मंगलबार साँझ सम्म पूर्व रोडका नाला सफाइ गरिएको छ ।

नालामा जमेको फोहोर सफा गरिए पनि नालामा जमेको पानी भने पुरानै अवस्थामा रहेको छ । निकासद्धार भन्दा चोकमा नाला गहिरो हुँदा पानी निकास नभएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले तत्कालको लागि नाला सफा गरेर सडक विभाग सँग भनेर ढक्कनको व्यवस्था गर्ने योजना रहेको बताए ।

‘बर्सातको समयमा हुने डुबानबाट जोगाउनको लागि हामीले नाला सफा गर्न लागेका हौ’ उनले भने ‘चोकमा जमेको पानी निकाल्ने प्रयासमा लागेकै छौ ।’ उनले नाला सफाइ गर्ने सप्ताहव्यापी कार्यक्रम बनाएर सफाइ गर्न लागेको बताए ।
अत्तरिया चोकमा मोहना अत्तरिया ६ लेन सडक निमार्ण गरिएदेखि पानी जम्दै आएको छ । चोकको पानी निकास हुने ६ लेन सडकको नाला उच्चो हुँदा चोकमा पानी जम्ने गरेको छ । त्यसैमा लामो समय देखि नालामा जमेको फोहोर सफा नगरिँदा पानी रोकिएर चोकको पूर्व पट्टि सर्भिस लेनमा पानी जमेर हिलाम्मे हुने गरेको छ । नगरपालिकाको फोहोर व्यवस्थापन शाखाका इन्चार्ज प्रमल महराले बजार क्षेत्रका सबै नाला सफाइ गरिने बताए । उनले अत्तरिया चोकमा ६ लेन सडकको कारण डुबान भएको बताउँदै पानी डुबान कम गर्ने प्रयास गरिरहेको बताए ।

अत्तरियाको चोक वरिपरि मात्रै नभएर पहाड रोड, महेन्द्रनगर रोडका नाला पनि फोहोरले भरिएका छन् । ढक्कन विनाका ती नालामा फोहोर फालिदा पानी निकास बन्द हुने गरेको छ । लामो समय देखि अत्तरिया बजार वरपरका नाला व्यवस्थित हुन नसक्दा स्थानीय सरकारको पनि चर्को आलोचना हुँदै आएको छ ।

ढक्कन बिनाका खुला नालामा फोहोर भरिदा बजारको सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । नाला सफा गरेपछि बर्सातमा केही राहत हुने विश्वास लिइएको स्थानीय दीपक भट्टले बताए । उनले नियमित सफा गरिएमा नालामा पानी जमे पनि डुबानको समस्या नआउने बताए । ‘नियमित नाला सफा गरिएको भए यो समस्या आउने नै थिएन’ उनले भने ।

clock बुधबार ३१, बैशाख २०८२ ०८:१२

प्रतिक्रिया