बैतडीमा विपत् प्रतिकार्य अभ्यास गर्दै नेपाली सेना
बैतडी । नेपाली सेनाको श्रीबक्स गुल्मले बिहीबार बैतडीमा संयुक्त मनसुन प्रतिकार्य अभ्यास सञ्चालन गरेको छ । नजिकिँदो बर्खामा हुन सक्ने विपत्का घटनालाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप बैतडीमा रहेको श्रीबक्स गुल्मको आयोजनामा सञ्चालन गरिएको प्रतिकार्य अभ्यास गरिएको हो ।
अभ्यासमा जिल्लामा रहेका तीन वटै सुरक्षा निकायसहित रेडक्रस, स्थानीय तह तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । दशरथ चन्द नगरपालिका–५, सुन्दरखालीमा अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मका गुल्मपति सेनानी सफल थापाले जानकारी दिनुभयो । विपत्सँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समिति, नागरिक समाज, नेपाल रेडक्रस, जिल्लामा कार्यरत अन्य सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर अभ्यास गरेको उहाँले बताउनुभयो ।
यो अभ्यासले विपत्को समयमा खोजउद्धारमा सहयोग पुग्ने सेनानी थापाले बताउनुभयो । अभ्यासका क्रममा भिरमा अड्केको घाइतेको रक क्लाइम्बिङ रेस्क्यु, गहिरा खाडल तथा खोँचमा अड्केकाको हाई ल्यान्ड रेस्क्यु र पहिरोबाट विस्थापितका लागि आपत्कालीन आवास निर्माणसम्बन्धी अभ्यास सञ्चालन गरिएको श्रीबक्स गुल्मले जनाएको छ । उक्त अभ्यासमा श्रीबक्स गुल्म, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, रेडक्रस, जिल्ला अस्पताल र अन्य सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
उक्त अभ्यासले मनसुनपूर्वको तयारी र विपत् प्रतिकार्यसम्बन्धी जिल्लामा बनेका योजना कार्यान्वयन गराउन र विपत्को बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
विपत् जुनसुकै अवस्थामा पनि आउन सक्ने भएकाले पूर्वतयारी र स्थानीय बासिन्दालाई पनि सँगै राखेर अभ्यास गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विपत्को बेला परिचालित हुने जनशक्ति, उद्धार कार्यका लागि चाहिने स्रोतसाधनको प्रभावकारिता परीक्षण गरी तयारी अवस्थामा राख्न अभ्यास गरिएको छ । यसले पक्कै पनि विपत् न्यूनीकरण गर्न सहज हुने छ । अभ्यास कार्यक्रममा जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय विपत् व्यवस्थापन र सरोकारवालाबिच अनुभव साटासाट पनि गरिएको छ ।”
प्रतिक्रिया